Kathmandu Press

सधैँ लाभको पद पाइरहने भाग्यमानी खतिवडा

अमेरिकाका लागि नेपाली राजदूतमा सिफारिस भएका डा. खतिवडा यस्ता व्यक्ति हुन्, जो २०६६ सालदेखि यता पार्टी सत्तामा हुँदा निरन्तर लाभको पद प्राप्त गरिरहेका छन्। 
सधैँ लाभको पद पाइरहने भाग्यमानी खतिवडा
पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा।

काठमाडौं, असोज १५ : सरकारले विभिन्न लाभको पद प्राप्त गरिसकेका पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि सिफारिस गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले खतिवडालाई अमेरिकाको राजदूतमा पठाउने निर्णय गरेको महिला तथा बालबालिका मन्त्री पार्वत गुरुङले जानकारी दिए। खतिवडा यस्ता व्यक्ति हुन् जो २०६६ सालदेखि यता पार्टी सत्तामा हुँदा निरन्तर लाभको पद प्राप्त गरिरहेका छन्। 

राष्ट्र बैंकको गर्भनर, योजना आयोगको उपाध्यक्ष, राष्ट्रियसभाका सदस्य,अर्थमन्त्रीदेखि प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकारसहित विभिन्न लाभका पद पाइसकेका छन्। तत्कालीन एमालेका तर्फबाट माधवकुमार नेपालले सरकारको नेतृत्व गर्दा खतिवडा २०६६ साल चैत ९ गते राष्ट्र बैंकका गर्भनरका रुपमा नियुक्त भएका थिए।

पछि उनैलाई २०६६ साल असारमा त्यही सरकाले योजना आयोगको उपाध्यक्ष जिम्मेवारी दियो। त्यसपछि २०७२ साल कात्तिक १८ गते केपी ओली नेतृत्वको सरकारले उनलाई फेरि २०७२ साल कात्तिक १९ गते योजना आयोगको उपाध्यक्षको जिम्मेवारी दियो। खतिवडा नेकपा अध्यक्ष केपी शर्मा ओलीका प्रिय पात्र हुन्।

२०७४ सालको संसदीय निर्वाचनमा बामगठबन्धनको घोषणापत्र लेख्न सहयोग गरेका खतिवडालाई ओलीले राष्ट्रियसभामा सिफारिस पनि गरे। २०७४ फागुन १४ गते उनलाई प्रधानमन्त्री ओलीले अर्थमन्त्री समेत बनाए। समृद्ध नेपाल सुखी नेपालीको नारा कार्यान्वयन गर्न उनले मात्रै सक्ने ओलीको आत्मविश्वास थियो। त्यसैले उनले राष्ट्रियसभामा उनको पदावधि गत भदौ २० गते  सकिँदा समेत उनैलाई निरन्तरता दिने प्रयत्न समेत गरेका थिए।

'खतिवडा प्रधानमन्त्री ओलीका विश्वास पात्रमध्येका एक हुनुहुन्छ। आफ्ना विश्वास पात्रलाई केही न केही जिम्मेवारी दिइरहने  उहाँको स्वाभाव नै हो,' ओली निकट स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले भने।

नेकपाको सचिवालय बैठकले राष्ट्रियसभामा उपाध्यक्ष बामदेव गौतमलाई पठाउने निर्णय कार्यान्वयनमा लैजाने प्रस्ताव पारित गरेसँगै खतिवडाको अर्थमन्त्रीमा निरन्तरता भएन। तर, प्रधानमन्त्री ओलीले गत भदौ ३० गते मन्त्रीको सेवा सुविधा प्राप्त हुने गरी उनलाई आफ्नो विशेष आर्थिक सल्लाहकारका रुपमा नियुक्त गरे।

योबीचमा मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य समेत नेकपाभित्र हुँदै आएको छ। प्रधानमन्त्री मातहतमा रहेको अर्थ मन्त्रालयमा नयाँ मन्त्री पठाउनुपर्ने अवस्था यतिबेला छ। खतिवडा प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा नियुक्त भएकाले नयाँ मन्त्री आएपनि उनकै निर्देशन अनुसार मन्त्रालय चलाउनुपर्ने अवस्था आउने भएकाले कसैले जिम्मेवारी सम्हाल्ने चेष्टा गरिसकेका थिएनन्। 

आफ्ना कार्यक्रम कार्यान्वयनका लागि विश्वासका पात्र समेत पठाउनुपर्ने भएकाले प्रधानमन्त्री ओलीले खतिवडालाई राजदूतको जिम्मेवारी दिएको हुनसक्ने एक स्थायी कमिटी सदस्यले आंकलन गरे। 

'युवराज खतिवडालाई आर्थिक सल्लाहकार कायमै राखेर अर्थ मन्त्रालयमा आउन कसैले पनि चाहना देखाएका थिएनन्। त्यसैले प्रधानमन्त्रीले उहाँलाई त्यस पदबाट सिधैँ हट्नुस भन्न नसकेर नयाँ जिम्मेवारी दिनुभएको हो,'ती सदस्यले भने।
 

प्रकाशित मिति: २०:०१ बजे, बिहीबार, असोज १५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्