वीरेन्द्रनगरका मेडिकलमा पनि सर्जिकल मास्क अभाव
सुर्खेत, फागुन २३ : प्रदेश राजधानी वीरेन्द्रनगरस्थित मेडिकलहरुमा सर्जिकल मास्क अभाव देखिएको छ।
नेपालमा पनि कोरोना भाइरसको संक्रम....
सुर्खेत, फागुन २३ : प्रदेश राजधानी वीरेन्द्रनगरस्थित मेडिकलहरुमा सर्जिकल मास्क अभाव देखिएको छ।
नेपालमा पनि कोरोना भाइरसको संक्रमण फैलिन सक्ने सम्भावना बढेपछि यहाँका व्यवसायीले महँगो मूल्यमा मौज्दात सर्जिकल मास्क काठमाडौं निर्यात गरेपछि अभाव सिर्जना भएको हो। नेपाल औषधि व्यवसायी सङ्घ सुर्खेतका अध्यक्ष रणबहादुर खड्काले जिल्लामा रहेका करीब १०० मेडिकल तथा सर्जिकल सप्लायर्समा हाल मास्क नभएको जानकारी दिए। 'डिलरमै मास्क छैन, हामीसँग भएको पनि सकियो', उनले भने, 'एक महिनादेखि मास्क ल्याउने प्रयास गरेका छौँ, कतै पाइएको छैन।'
वीरेन्द्रनगरमा सर्जिकल मात्र नभई कपडाका मास्क पनि अभाव देखिन थालेको छ। सुर्खेत उद्योग वाणिज्य सङ्घ, रेडिमेड तथा वस्तुगत समितिका अध्यक्ष खड्कप्रसाद ढकालले कपडाका मास्क पनि विस्तारै अभाव देखिन थालेको जानकारी दिए। कपडाको मास्क किन्ने ग्राहकको सङ्ख्या बढेको उनले बताए।
यसैबीच काठमाडौंबाट सुर्खेत पुगेका एक युवकलाई ज्वरो आएको पाइएपछि चिकित्सकको निगरानीमा राखिएको छ। बिहीबार बिहान सुर्खेत विमानस्थलमा जाँच गर्दा ती युवकमा १०० दशमलव ५ डिग्री सेल्सियस ज्वरो देखिएको थियने। जापानबाट कोरिया हुँदै उनी नेपाल आइपुगेको बताइएको छ। उनलाई प्रदेश अस्पताल कालागाउँमा चिकित्सकको निगरानीमा राखिएको छ।
अस्पतालका निर्देशक डा डम्बर खड्काले ज्वरो बढी देखिएकाले उनलाई पूर्ण रुपमा स्वास्थ्यकर्मीको निगरानीमा राखिएको जानकारी दिए। उनले भने, 'ती युवकलाई तत्काल आइसोलेशनमा राख्नुपर्ने अवस्था रहेको छैन।' प्रदेश सरकारले विश्वमा महामारीका रुपमा फैलिएको सो भाइरसबाट सुरक्षित रहन सुर्खेत विमानस्थलमा ‘हेल्थ डेस्क’ स्थापना गरिएपछि दैनिक स्वास्थ्य जाँच शुरु गरिएको छ।