Kathmandu Press

गर्भवती भन्छन् : जीवनमा पहिलोपटक भिडियो एक्स–रे गरियो

जाजरकोट, फागुन २२ : आर्थिक अवस्था कमजोर भई स्वास्थ्य संस्था जानसक्ने अवस्था नभएको गर्भवतीका लागि गाउँगाउँमा निःशुल्क भिडियो एक्स–रे सेवा सुरु गर....

गर्भवती भन्छन् : जीवनमा पहिलोपटक भिडियो एक्स–रे गरियो

जाजरकोट, फागुन २२ : आर्थिक अवस्था कमजोर भई स्वास्थ्य संस्था जानसक्ने अवस्था नभएको गर्भवतीका लागि गाउँगाउँमा निःशुल्क भिडियो एक्स–रे सेवा सुरु गरिएको छ। भेरी नगरपालिकाले स्वास्थ्य संस्था आउन नसक्ने गर्भवतीलाई गर्भजाँच गर्न निःशुल्क भिडियो एक्स–रे सेवा सुरु गरेको हो। भिडियो एक्स–रे गरी गर्भजाँच गर्ने अधिकांश महिलाले जीवनमा पहिलोपटक भिडियो एक्स–रे गरेको बताएका छन्। 

भेरी–११ कट्टी गाउँकी रमिता कामीले भनिन्,'भिडियो एक्स–रे कस्तो हुन्छ भन्ने थाहा थिएन, अहिले पहिलोपटक गाउँमै आफैले सेवा लिएर थाहा पाए।' उहाँ जस्तै अर्की तुली विक अहिले दोस्रोपटक गर्भजाँच गर्न जगतिपुर स्वास्थ्य चौकीमा आएकी हुन्। 'पहिलोपटक जाँच नगरी छोरीको जन्म दिए, अहिले नगरपालिकाले भिडियो एक्स–रे गर्दैछ भन्ने सुनेर भिडियो एक्स–रे गर्न आए', उनले भनिन्, 'यो वर्षदेखि नियमित गर्भजाँचदेखि भिडियो एक्स–रेसम्म गर्न पाइयो, असाध्यै खुशी लागेको छ।' 

Hardik ivf

अहिले नगरपालिकाले १४ वटै वडामा गर्भवतीको स्वास्थ्य परीक्षणका साथै भिडियो एक्स–रे सेवा गर्दै आएको छ। सुरक्षित मातृत्व कायम गरी नवजात शिशुको मृत्युदर घटाउन यो अभियान चालिएको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए। पैसाको अभावमा कोही गर्भवतीको स्वास्थ्य जाँच गर्न समस्या नहोस् भनी नगरपालिकाले यस्ता खालका कार्यक्रम गर्दै आएको उनको भनाइ छ ।

नगर प्रवक्ता पार्वती विक भन्छिन्,'आमा र शिशुको पोषण सुधार गर्नका लागि गर्भवतीका लागि निःशुल्क भिडियो एक्स–रे सेवा सञ्चालन गर्दै गर्दा हाम्रो बीचमा डरलाग्दो बालविवाहको दृश्यसमेत देखिएको छ।' गर्भवती जाँच गराउने अधिकांश १६ वर्ष देखि २० वर्ष मुनिका रहेका जाँचमा संलग्न चिकित्सक भुपेन्द्रप्रकाश मल्लले जानकारी दिए।  

बालविवाह न्यूनीकरणको अभियान चलाइरहँदा गाउँगाउँमा बालविवाहको अवस्था झन् डरलाग्दो भएको पाइएको चिकित्सकले बताए। गाउँमा सुत्केरी हुने मध्ये अधिकांश महिला नियमित गर्भजाँच नगराउने तर समस्या परेको बेला मात्र स्वास्थ्य संस्थाको मुख ताक्ने अवस्था रहेको स्वास्थ्यकर्मीको भनाइ छ।

प्रकाशित मिति: १२:४५ बजे, बिहीबार, फागुन २२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्