हुम्ला–डोल्पालगायतका क्षेत्रमा फेरि हिमपात
हुम्ला, फागुन ९ : हिमाली जिल्ला हुम्लामा आज फेरि हिमपात शुरू भएको छ । कात्तिक १८ गतेबाट हिमपात हुन थालेको हुम्लामा पुसको मध्यदेखि निरन्तर हिमपातले भइर....
हुम्ला, फागुन ९ : हिमाली जिल्ला हुम्लामा आज फेरि हिमपात शुरू भएको छ । कात्तिक १८ गतेबाट हिमपात हुन थालेको हुम्लामा पुसको मध्यदेखि निरन्तर हिमपातले भइरहेको छ ।
उत्तरी नाम्खा गाउँपालिका एक महिनादेखि नमस्ते टेलिफोन सेवा अवरुद्ध भएको छ । जिल्लामा भारी हिमपातले गर्दा नाम्खा गाउँपालिकामा रहेको नमस्ते टेलिफोन टावर बिग्रदा एक महिनादेखि मर्मत नहुँदा टेलिफोन गर्न नपाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन श्रेष्ठले बताए ।
माघमा परेको भारी हिउँ पग्लिन नपाउँदै बिहीबारबाट फेरि हिउँ पर्न थालेको छ । आज बिहान लगतार हिउँ परिरहेको छ । हिमपातले चिसो बढ्दै गएको छ ।
नाम्खा गाउँपालिका–६ मुचुमा रहेको प्रहरी चौकी भारी हिमपातको चिसोले तीन घण्टा पैदल हिँडेर पुग्ने स्थान तुम्कोटमा सारिएको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिए । नेपाल प्रहरीको सञ्चारसेटबाहेक अन्य टेलिफोन सेवा बिग्रँदा समस्या बनाएको उनले बताए।
केही समयदेखि परेको हिमपातले डोल्पा जिल्लाको उत्तरी क्षेत्रको जनजीवन कष्टकर बनेको छ । चार÷पाँच फिटसम्मको हिउँ जमेका कारण यहाँका वासिन्दा घरबाहिर निस्कन सकेका छैनन् । विगतका वर्षहरुमा सामान्यतः माघको अन्तिमसम्म मात्रै हिमपात हुने गरेकामा यस वर्ष फागुनको मध्यसम्म पनि हिउँ पर्ने क्रम रोकिएको छैन ।
हिमपातकै कारण कतिपयको घरभित्र जोहो गरेको खाद्यान्न सकिन लागेकाले भोकमरीको अवस्था आउने सम्भावना देखिएको छ । विरामी हुँदा औषधोपचार गर्ने तथा चौंरीलगायतका पशुहरूलाई खुवाउने कुराको अभावमा भोकै मर्ने स्थिति समेत उत्पन्न हुनसक्ने खतरा देखिएको छ ।
हिमपात नरोकिएका कारण जाडो छल्न काठमाडौँ, नेपालगञ्ज, सुर्खेतलगायतका शहरमा झरेका कतिपय डोल्पाली घर फर्किन सकेका छैनन् । महीनौंसम्म राजधानीमा बस्नुपर्दा खर्च धान्न पनि मुस्किल भएको डोल्पा बुद्ध गाउँपालिका–१ धो तरापका नाम्ग्याल गुरुङले बताए । (रासस)