व्यवस्थापन समितिका अध्यक्ष पौडेलले फिर्ता गरेनन् विद्यालयको रकम
लमजुङ, फागुन १५ : लमजुङको बेसीशहर नगरपालिकामा रहेको जनविकास माविको विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष सुवास पौडेलले विद्यालयबाट लागेको रकम फिर्ता ग....
लमजुङ, फागुन १५ : लमजुङको बेसीशहर नगरपालिकामा रहेको जनविकास माविको विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष सुवास पौडेलले विद्यालयबाट लागेको रकम फिर्ता गर्न आनाकानी गरेका छन्।
अघिल्लो भदौमा अध्यक्ष पौडेलले विद्यालयबाट सापटी भनेर लगेको ७५ हजार रुपैयाँ अझैसम्म फिर्ता नगरेका हुन्। पौडेलले अघिल्लो वर्ष भदौमा विद्यार्थी भर्ना गरेको रकम दुई–तीन दिनका लागि आवश्यक परेको भन्दै विद्यालयबाट सापटी लगेका थिए।
विद्यालयले पटक–पटक ताकेता गर्दा पनि रकम फिर्ता नगरेको जनविकास माविका प्रधानाध्यापक रत्नमान श्रेष्ठले बताए। उनले भने,‘एक साताभित्रै फिर्ता गर्ने शर्तमा उहाँले सापटी लानु भएको हो। तर डेढ वर्ष भइसक्दा पनि उहाँले अहिले फिर्ता गर्न आनाकानी गरिरहनु भएको छ।’
अध्यक्ष पौडेलले विद्यालयबाट सापट लगेको पैसा फिर्ता नगरेपछि गत माघ २५ गते बेसीशहर नगरपालिकामा बैठक बसेको थियो। नगरपालिकाका मेयर गुमानसिंह अर्याल, उपमेयर लक्ष्मी अधिकारी, प्रअ रत्नमान श्रेष्ठ र नगरपालिकाका शिक्षा शाखाका कर्मचारीसहित बसेको बैठकले व्यवस्थापन समितिका अध्यक्ष पौडेललाई पैसा फिर्ता गर्न आग्रह पनि गरेको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पौडेलले विद्यालयको ७५ हजार रकम सापटी लगेर फिर्ता नगरेको स्वीकार गरेको मेयर गुमानसिंह अर्यालले बताए। विद्यालयको अडिटबारे पनि विवाद भएकाले यी विषय छिट्टै नगरपालिकाले टुंग्याउने मेयर अर्यालले बताए।
तर, अध्यक्ष पाैडेलले भने फागुन ५ गते नै विद्यालयको बैंक खातामा रकम जम्मा गरेको दाबी गरे।