पौडेलको अनशनप्रति कांग्रेसको समर्थन छ : नेता खाँण
चितवन, फागुन १३ : नेपाली कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँणले माडी नगरपालिका–१ का वडाध्यक्ष कृष्ण पौडेलको आमरण अनशनप्रति पार्टी संसदीय दल....
चितवन, फागुन १३ : नेपाली कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँणले माडी नगरपालिका–१ का वडाध्यक्ष कृष्ण पौडेलको आमरण अनशनप्रति पार्टी संसदीय दल र केन्द्रको समर्थन रहेको बताएका छन्। भरतपुर अस्पतालमा उनलाई आज भेटेपछि प्रतिक्रिया दिँदै नेता खाँणले सरकारले अविलम्ब उनको जीवनरक्षाका लागि पहल गरी माग सुनुवाइ गर्नुपर्ने बताए।
माडीका जनताको समस्या र पीडालाई मुखरित गर्ने र त्यसलाई राज्यले सम्बोधन गरोस् भन्ने उद्देश्यले उनको अनशन भएको भन्दै नृता खाँणले संसद् पूर्णरुपमा चलेपछि यस विषयमा कांग्रेसले संसद्मा उठान गर्ने बताए। उनले भने, 'जुन खालको कठिन अवस्था छ त्यसबाट उन्मुक्ति पाइयोस् भनेर अनशन बस्नुभएको छ। त्यसमा हाम्रो समर्थन छ।'
पौडेल फागुन ७ गतेदेखि माडीका जनताको प्रत्यक्ष सरोकार राख्ने माग राखेर आमरण अनशनमा बसेका छन्। उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि सोमबार बिहान भरतपुर अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार थालिएको छ।