Kathmandu Press

‘निजामती प्रशासनलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन सरकार प्रतिबद्ध छ’

‘देशका ठूला राजनीतिक परिवर्तनमा निजामती कर्मचारीहरूको पनि महत्वपूर्ण भूमिका छ, विकास निर्माण सेवा प्रवाह र सङ्क्रमणकालीन व्यवस्थापनमा निजामती प्रशासनले पुर्याएको योगदान महत्वपूर्ण छ,’ उनले भने।
‘निजामती प्रशासनलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन सरकार प्रतिबद्ध छ’

काठमाडौं, भदौ २२ : प्रधानमन्त्री पुष्पकमल दाहालले निजामती सेवासम्बन्धी विधेयक संसदबाट छिट्टै पारित हुने बताएका छन्।

निजामती सेवा दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दहालले बिहीबारमात्र मन्त्रिपरिषद्ले विधेयक संसदमा पठाउने निर्णय गरेको बताउँदै राजनीतिक दलहरूको सहमतिबाट संसद्ले उक्त विधेयक यथाशक्य छिटो पारित गर्ने विश्वास व्यक्त गरे।

उनले मुलुकको सिंगो प्रशासन संयन्त्रलाई उत्प्रेरित र उच्च मनोबलयुक्त, निष्पक्ष, पारदर्शी, परिणाममुखी, जवाफदेही, स्वच्छ, सक्षम र प्रविधिमैत्री बनाई निजामती प्रशासनलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन सरकार प्रतिबद्ध रहेको बताए।

‘देशका ठूला राजनीतिक परिवर्तनमा तपाईं निजामती कर्मचारीहरूको पनि महत्वपूर्ण भूमिका रहिआएको छ, देशको विषम परिस्थितिमा राज्य सञ्चालनदेखि विकास निर्माण सेवा प्रवाह र सङ्क्रमणकालीन व्यवस्थापनमा निजामती प्रशासनले पुर्याएको योगदान महत्वपूर्ण छ,’ उनले भने, ‘त्यसका निम्ति तपाईंहरू सबै प्रशंसाको पात्र हुनुहुन्छ।’

प्रधानमन्त्री दाहालले राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै सामाजिक न्याय, सुशासन, र समृद्धिका एजेन्डामा लैजाने सरकारको अहिलेको मुख्य कार्यभार रहेको बताउँदै राजनीतिक परिवर्तनका निम्ति संघर्ष गरेका जनतालाई शासन व्यवस्थामा आएको परिवर्तनको लाभांश दिनुपर्ने जिम्मेवारी र चुनौती दुवै रहेको उल्लेख गरे।

‘यसो हुन सके मात्रै लोकतन्त्र बलियो हुन्छ, राज्यप्रति नागरिकको भरोसा र विश्वासमा पनि अभिवृद्धि हुँदै जान्छ, सामाजिक न्याय सुशासन र समृद्धिको दीर्घकालीन लक्ष्य हासिल गर्न निजामती प्रशासनले राजनीतिक मार्गदर्शनमा रही काम गर्नु पर्दछ र गर्दै आएको पनि छ,’ प्रानमन्त्री दाहालले भने।

उनले गठबन्धन दलहरूको साझा न्यूनतम कार्यक्रम, नेपाल सरकारको नीति तथा कार्यक्रम साथै चालु आर्थिक वर्षको बजेटलाई केन्द्रमा राखेर काम गर्नु सबैको मुख्य जिम्मेवारी रहेको प्रस्ट पो।

संविधानको मूल मर्म र भावनालाई आत्मसात् गरी सङ्घीयताको प्रभावकारी कार्यान्वयन, शासकीय संरचना र कार्यशैली, सार्वजनिक सेवा प्रवाहमा सुधार साथै भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई केन्द्रमा राखी सरकार अगाडि बढिरहेको उनकोको भनाइ थियो।

प्रकाशित मिति: ११:२० बजे, शुक्रबार, भदौ २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्