Kathmandu Press

समृद्धिको यात्रामा अवरोध गर्ने प्रयास भइरहेको छ : प्रधानमन्त्री

काठमाडौं, फागुन ७ : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिको यात्रामा अवरोध गर्ने प्रयास भइरहेको बताएका छन्। विकास निर्माण, वैदेशिक लगानीजस्ता....

समृद्धिको यात्रामा अवरोध गर्ने प्रयास भइरहेको छ : प्रधानमन्त्री

काठमाडौं, फागुन ७ : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिको यात्रामा अवरोध गर्ने प्रयास भइरहेको बताएका छन्। विकास निर्माण, वैदेशिक लगानीजस्ता समृद्धिको महाअभियानमा अवरोध पुग्ने काम भइरहेको उल्लेख गर्दै उनले त्यस्ता अवरोधले समृद्धिको यात्रा नरोकिने स्पष्ट पारे।

राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी सत्तरीऔँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘मुलुक समृद्धिको दिशामा अघि बढिरहे पनि बाधा हाल्ने काम भइरहेका छन्, सरकारको विकासको यात्रामा अवरोधको प्रयास भए पनि त्यसलाई परास्त गरेर अघि बढ्छौँ।’

प्रधानमन्त्री ओलीले राष्ट्रको सम्पन्नताका लागि तय गर्नुपर्ने बाटो लामो भएको र त्यसतर्फ मुलुक यात्रारत रहेको बताए। उनले यात्राको थालनीलाई औचित्यहिन र अनावश्यक ठान्ने प्रवृत्तितर्फ सरकार सचेत रहेको उनको भनाइ थियो। संविधान जारी भएपछि आम निर्वाचनद्वारा बनेको सरकारले भर्खरै दुई वर्षे कार्यकाल पूरा गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले गत वर्षलाई सरकारले राज्य सञ्चालनको आधार वर्षका रुपमा लिएको बताए।

अहिले नयाँ संविधानबमोजिमका राज्य संरचना निर्माण, सङ्घीयता कार्यान्वयन, वित्तीय व्यवस्थापन, कानून र जनशक्ति समायोजन गरेर सरकार अघि बढेको उनको भनाइ थियो। ‘त्यही आधारमा टेकेर मुलुकलाई समृद्ध बनाउने अभियानमा लागेका छौँ, यस अवधिमा सुशासन र विकासका नतिजा आउन थालेका छन्, केही सम्पन्न गरेका छौँ, केही निर्माणाधीन छन्, केही अगाडि बढ्दैछन्,’ उनले भने।

विसं २००७ को आजलाई नेपालको इतिहासमा उज्यालो नयाँ युगको आरम्भको गौरवमय दिनका रुपमा स्मरण गर्दै उनले यस दिनको सम्झना र सम्मानमा सरकारले हरेक वर्ष प्रजातन्त्र दिवसका रुपमा मनाउँदै आएको उल्लेख गरे। उनले देशभित्र र देश बाहिर रहेका आम नेपालीलाई दिवसको अवसरमा शुभकामना दिए।

प्रजातन्त्रको हक अधिकार स्थापनाका लागि विगतमा भएको अनवरत सङ्घर्षमा आफूलाई समाहित गर्ने वीरविरङ्गनाको स्मरण गर्दै प्रधानमन्त्री ओलीले विगतको प्रजातान्त्रिक आन्दोलनको गौरवमय इतिहासलाई कसैले विर्सन नहुनेमा जोड दिए। उनले भने, ‘आजको दिनलाई जनताले चाहेको राष्ट्रको समृद्धिका लागि संकल्प गर्ने दिन हो।’

द्वन्द्व व्यवस्थापनमा नेपालले मौलिक विधि अपनाएर व्यवस्थापन गरेकाले अहिले मुलुक आर्थिक विकास र सामाजिक रुपान्तरणमा अघि बढेको प्रधानमन्त्रीको भनाइ थियो। नेपाली समस्या आफैँ हल गर्नसक्ने भनेर पहिचान दिलाएको नेपालले अन्तर्राष्ट्रिय जगत्मा पहिचान विस्तार गरेको र नेपालप्रति विश्वको ध्यानाकर्षण भएको उनले बताए।

उनले अब बेरोजगारी र पछौटेपनको अवस्थाबाट मुलकुलाई बाहिर निकाल्नुपर्न अभिभारा सरकारसामु रहेको जिकिर गरे। ‘विकासको नयाँ युगमा प्रवेश गराउन सरकार योजनाबद्ध रुपमा अघि बढेको छ, आर्थिक विकास र सामाजिक न्यायसहितको लोकतन्त्रलाई जनस्तरसम्म विस्तार एवं सुदृढ गर्ने दिशातर्फ अघि बढेका छौँ,’ उनले भने।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो। समारोहमा प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरा, सभामुख अग्नि सापाकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका विशिष्ट कर्मचारीलगायतको सहभागिता थियो।

प्रकाशित मिति: १४:३८ बजे, बुधबार, फागुन ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्