तीन उद्योग बन्द गर्न जिल्ला समन्वय समितिको निर्देशन
काभ्रेपलाञ्चोक, फागुन ७ : जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले अनुमति नलिई सञ्चालन भइरहेका तीन उद्योगलाई बन्द गर्न निर्देशन दिएको छ । समन्वय समितिले ग....
काभ्रेपलाञ्चोक, फागुन ७ : जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले अनुमति नलिई सञ्चालन भइरहेका तीन उद्योगलाई बन्द गर्न निर्देशन दिएको छ । समन्वय समितिले गरेको अनुगमनका क्रममा मण्डनदेउपुर नगरपालिका–६ स्थित मेलम्ची बगरमा सञ्चालन गरेको मेलम्ची इन्द्रावती स्टोन, भुम्लु गाउँपालिका–७ मा सञ्चालनमा रहेको वीर वि एण्ड सन्स र वडा नं. १० मा रहेको मञ्जुश्री मल्टिप्रपोज प्रालिलाई बन्द गर्न निर्देशन दिएको जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले बताए ।
मेलम्ची बगरमा कुनै पनि उद्योगलाई आर्थिक वर्ष २०७६/०७७ मा नदीजन्य पदार्थ सङ्कलन तथा उत्खनन गर्न अनुमति नदिएको भए पनि मेलम्ची इन्द्रावती स्टोनले निरन्तर रुपमा मेलम्ची बगर क्षेत्रमा बालुवा, गिट्टी बिक्री वितरण गरेको पाइएको र गत आर्थिक वर्षमा गरेको कामको समेत अत्यावधिक विवरण उपलब्ध गराउन नसकेको भन्दै यथार्थ छानबिन गरी आवश्यक कार्वाही गरी जिल्लास्तरीय अनुगमन समितिलाई जानकारी दिन सम्बन्धीत नगरपालिकालाई अनुरोध गरेको समन्वय प्रमुख केसीले बताए ।
त्यस्तै वीर वी एण्ड सन्स र मञ्जुश्री मल्टिप्रपोज प्रालिले बालुवा प्रशोधन अनुमति लिएर क्रसर नै सञ्चालन गरिरहेको पाइएकाले उद्योग दर्ता अनुमति लिँदाको उद्देश्यभन्दा फरक कार्य गरेको भन्दै क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ ।