गाडेको शव निकालेर परीक्षण
नवलपरासी, फागुन ७ : नवलपरासीको रामग्राम नगरपालिका–७ उजैनीका ९ वर्षीय एक बालकको मृत्यु शंकास्पद भएको भन्दै प्रहरीले गाडेको ठाउँबाट शव उत्खनन गरेर....
नवलपरासी, फागुन ७ : नवलपरासीको रामग्राम नगरपालिका–७ उजैनीका ९ वर्षीय एक बालकको मृत्यु शंकास्पद भएको भन्दै प्रहरीले गाडेको ठाउँबाट शव उत्खनन गरेर परीक्षणको लागि पठाएको छ । स्थानीय बैजनाथ पासवानका छोरा विवेक पासवानको आइतबार चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो ।
स्थानीय रामग्राम बोर्डिङ स्कुलको कक्षा १ मा अध्ययनरत बालकको विद्यालयमा कुटपिट हुँदा बिरामी परेको परिवारले दाबी गरेका छन् ।
शुक्रबार बिहान विद्यालय गएका बालक बिरामी परेपछि उनलाई सुरुमा उपचारका लागि जिल्ला अस्पताल पृथ्वीचन्द्र लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएको भन्दै चिकित्सकले भैरहवा र रेफर गरेका थिए । भैरहवामा पनि उपचार सम्भव नभएकोले बालकलाई चितवन मेडिकलकलेज लगिएको थियो ।
विद्यालयमा कुटपिट गरेको कारण बालकको मृत्यु भएको भन्दै सोमबार स्थानीयले परासीमा प्रदर्शन गरेका थिए । बालकको मृत्यु शंकास्पद देखिएपछि प्रहरीले गाडेको ठाउँबाट शव उत्खनन गरेर पोस्टमार्टमका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।