पर्यटक लोभ्याउँदै एयरक्राफ्ट म्युजियम
धनगढी, फागुन ७ : झट्ट हेर्दा विमानस्थल छेउमै पार्किङ गरेजस्तै देखिने ‘एयरक्राफ्ट म्युजियम’ले पर्यटक लोभ्याउन थालेको छ । क्याप्टेन वेद उप्र....

धनगढी, फागुन ७ : झट्ट हेर्दा विमानस्थल छेउमै पार्किङ गरेजस्तै देखिने ‘एयरक्राफ्ट म्युजियम’ले पर्यटक लोभ्याउन थालेको छ । क्याप्टेन वेद उप्रेतीले निर्माण गरेको यो म्युजियम सुदुरपश्चिमको आकर्षक पर्यटकीय गन्तव्य बनेको छ ।
धनगढी पुगेका स्वदेशी तथा विदेशी यो म्युजियम भ्रमण नगरि फर्किदैनन् । यो धनगढी बजार छेउमै छ । धनगढी उपमहानगरपालिका–५ हसनपुरमा रहेको म्युजियम ०७१ मा स्थापना गरिएको हो ।
क्याप्टेन उप्रेतीले डेढ करोडमा म्युजियम बनाएका हुन् । “लामो समयदेखि विमानचालकको रूपमा कार्यरत भएकाले आफ्नो क्षेत्रमा केही न केही गर्नुपर्छ जसले समग्र क्षेत्रकै प्रतिनिधित्व गरोस् भनेर नै म्युजियम तयार पारेको हुँ,” उप्रेती काठडमौंप्रेससँग भने ।
उनले काठमाडौको सिनामंगमा पनि सात करोडमा एयरक्राफ्ट म्युजियम बनाएका छन् । त्यस्तै, कञ्चनपुरमा पनि म्युजियम बनाउने तयारीमा जुटेका छन् । “आर्थिक संकलन गरेर धनी बन्नुभन्दा पनि आफ्नो क्षेत्रमा केही नयाँ काम गरौँ भन्ने अभिप्रायले म्युजियम बनाइरहेको छु,” क्याप्टेन उप्रेतीले भने ।
उनी पर्यटक भित्र्याउने गतिविधिमै तल्लिन छन् । पछिल्लो पटक उनी सुदूरपश्चिमका पर्यटकीय स्थल र सम्भावना समेटेर पुस्तक लेखेका छन् । अंग्रेजी र नेपाली दुवै भाषामा तयार गरिएको पुस्तक छिट्टै प्रकाशित हुने उनले बताए ।












