कांग्रेस सरकार परिवर्तनको पक्षमा छैन : उपसभापति निधि
काठमाडौं, फागुन ५ : नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले आफ्नो पार्टी अहिले सरकार परिवर्तनको पक्षमा नरहेको बताएका छन्।
ने....
काठमाडौं, फागुन ५ : नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले आफ्नो पार्टी अहिले सरकार परिवर्तनको पक्षमा नरहेको बताएका छन्।
नेपाल प्रेस युनियन चितवनले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेसको अहिलेको रुचिको विषय सरकार परिवर्तन नरहेको प्रष्ट पारेका हुन्। सरकार परिवर्तनको विषय सत्ता पक्षको आन्तरिक विषय भएको उनको भनाइ थियो।
उनले भने, 'हामी सरकार ढाल्नेमा छैनौँ । आफ्नै महाधिवेशनको तयारीमा जुटेका छौँ ।' उनले कांग्रेसको चौधौँ महाधिवेशन सार्वजनिक भएको तालिकाअनुसार नै सम्पन्न हुने बताउँदै पार्टीभित्र सैद्धान्तिक विषयमा कुनै मतभेद नरहेको तथा पार्टी विधान र सहमतिअनुसार नै चलेको बताए।
कांग्रेस प्रतिपक्षको भूमिकामा नचुकेको दाबी गर्दै उनले सरकारले ल्याएका जनविरोधी कानून जस्ताको तस्तै पारित गर्न कांग्रेसले नै रोकेको उनले बताए । कांग्रेस जिम्मेवार र शालीन प्रतिपक्ष भएकाले आफ्नो भूमिका पनि सोही अनुसारको रहेको उनको भनाइ थियो।
सरकारको दुई वर्ष पूर्णरुपमा असफल भएको बताउँदै उपसभापति निधिले उक्त अवधिमा महँगी बढेको, शान्तिसुरक्षा कायम हुन नसकेको, विदेश नीति कमजोर बनेको र विकास निर्माण हुन नसकेको बताए।