अफ्रिकी मुलुक नाइजरमा सेनाले लियो सत्ता
सेना प्रमुख अमाडोउ अब्ड्रामानेले नाइजरका प्रतिरक्षा तथा सुरक्षा निकायहरूले शान्ति सुरक्षाको अवस्था बिगारिरहेको र कुशासन चलाइरहेकाले बमुजको शासन अन्त्य गर्ने निर्णय गरेको बताएका छन्।नियामी, साउन ११ : पश्चिमी अफ्रिकी मुलुक नाइजरमा सेनाले सत्ता हातमा लिएको छ।
त्यहाँको सेनाले राष्ट्रपति मोहम्मद बजुमलाई सैनिक हिरासत लिँदै सत्ता हातमा लिएको हो । सेना प्रमुखले संविधान भंग भएको घोषणा पनि गरेका छन्।
सेना प्रमुख अमाडोउ अब्ड्रामानेले सरकारी टेलिभिजनबाट सम्बोधन गर्दै नाइजरका प्रतिरक्षा तथा सुरक्षा निकायहरूले शान्ति सुरक्षाको अवस्था बिगारिरहेको र कुशासन चलाइरहेकाले बमुजको शासन अन्त्य गर्ने निर्णय गरेको बताएका छन्।
उनले नाइजरको अन्तर्राष्ट्रिय सीमा बन्द भएको, देशव्यापी संकटकाल घोषणा गरिएको र गणतन्त्रका सबै संस्थाहरू निलम्बन भएको उल्लेख गरेका छन्। आफूहरुलाई कुनै पनि प्रकारको विदेशी हस्तक्षेप स्वीकार्य नहुने पनि उनले बताएका छन्।
स्थिति स्थिर नहुन्जेल स्थल र हवाई सिमाना बन्द भएको घोषणा गर्दै उनले अर्को सूचना जारी नभएसम्मका लागि राति दश बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु जारी गरेका छन्।
भूपरिवेष्ठत मुलुक नाइजर सन् १९६० मा फ्रान्सेली उपनिवेशबाट स्वतन्त्र भएको थियो। स्वतन्त्र भएयता नाइजरमा यसअघि चार पटक सैन्य कू भइसकेको छ।