नापतौल ठगीमा साढे ११ हजार व्यापारी कारबाहीमा
कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को तथ्यांकअनुसार अनियमित रूपमा नाप्ने–तौलने यन्त्र प्रयोग गरी उपभोक्तालाई ठगी गरेको भेटिएपछि कारबाहीमा परेका हुन्।काठमाडौं, साउन ७ : नापतौल अनियमितमा संलग्न एघार हजार चार सय ९१ व्यापारीलाई कारबाहीमा परेका छन्।
गुणस्तर तथा नापतौल कार्यालय, काठमाडौंले नाप्ने–तौलने यन्त्र प्रयोग गरी ठगी गर्ने व्यापारीमाथि कारवाही गरेको हो।
कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को तथ्यांकअनुसार अनियमित रूपमा नाप्ने–तौलने यन्त्र प्रयोग गरी उपभोक्तालाई ठगी गरेको भेटिएपछि कारबाहीमा परेका हुन्।
समयमा अनुमतिपत्र नलिएका, समयमा जाँच नगराएका, समयभित्र नामसारी नगराएका, नापतौलमा घटीबढी गरेका व्यापारीलाई कारवाही गरिएको छ। नापतौल यन्त्रमार्फत उपभोक्ता ठगी गर्ने क्रम बढेको उजुरी र गुनासोका आधारमा कार्यालयले निगरानी बढाएको थियो।
आव २०७९/८० मा मात्र तीन हजार चार सय ४० व्यापारीलाई नापतौल तथा नाप्ने–तौलने यन्त्र प्रयोग गर्न अनुमति प्रदान गरिएको थियो। यसविचमा इजाजतपत्र नवीकरणसमेत गरिएको छ। अघिल्लो आव ०७८÷७९ मा अनियमित नापतौल तथा नाप्ने–तौलने यन्त्र प्रयोग गरी ठगी गर्ने आठ हजार आठ सय ५१ व्यापारी कारबाहीमा परेका थिए।
उक्त आवमा एक हजार पाँच सय नौ व्यापारीलाई नापतौल तथा नाप्ने–तौलने यन्त्र प्रयोग गर्न अनुमति प्रदान गरिएको थियो। कार्यालयले आव २०७९/८० मा रु. दुई करोड नौ लाख राजस्व संकलन गरेको छ।
गुणस्तर तथा नापतौल कार्यालय, काठमाडौंले काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, धादिङ, नुवाकोट र रसुवामा नापतौलको अनुगमन तथा कारबाही गर्दै आएको छ।