Kathmandu Press

सुनको भाउ अहिलेसम्मकै उच्च

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि असर परेको हो। तर, अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपालमा सुनको मूल्य वृद्धिदर उच्च देखिएको छ।
सुनको भाउ अहिलेसम्मकै उच्च

काठमाडौं, साउन ४ : सुनको मूल्यले डेढ महिनाअघिको उच्च रेकर्ड तोडेको छ।

नेपाली बजारमा बिहीबार सुनको मूल्य हालसम्मकै उच्च अर्थात् प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Hardik ivf

यसअघि गत जेठ १८ गते प्रतितोला १ लाख १३ हजार ३ सय रुपैयाँको उच्च मूल्य रेकर्ड रहेको थियो। अघिल्लो दिनको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि असर परेको हो। तर, अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपालमा सुनको मूल्य वृद्धिदर उच्च देखिएको छ।

अर्थमन्त्री प्रकाशशरण महतले बजेटमार्फत सुनको भन्सार दर बढाएकाले नेपाली बजारमा सुनको मूल्य उच्च दरले बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले साढे २ महिनाअघिको रेकर्ड तोड्न सकेको छैन भने नेपालमा यसअघिका सबै मूल्य रेकर्ड तोडिएको छ। साढे २ महिनाअघि अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस २०५० डलर हाराहारी रहेको सुनको मूल्य २० दिनअघि १९ सय डलर हाराहारीमा झरेको थियो। हाल भने प्रतिऔंस १९८५ डलर हाराहारीमा छ।

चाँदीको मूल्यले भने नेपाली बजारमा तीन दिनयता दैनिक उच्च रेकर्ड बनाइरहेको छ। मंगलबार प्रतितोला १४८० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १४९० रुपैयाँ पुग्यो भने बिहीबार १४९५ कायम भएको महासंघले जनाएको छ।

प्रकाशित मिति: ११:३६ बजे, बिहीबार, साउन ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्