चीनमा कोरोना भाइरसले ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन
काठमाडौं, फागुन १ : चीनको वुहान शहरमा कोरोना भाइरसका कारण एक हजार ११५ जनाले ज्यान गुमाइसकेका छन् । हजारौँ कोरोनाको भाइरसबाट सङ्क्रमित छन् ।
....

काठमाडौं, फागुन १ : चीनको वुहान शहरमा कोरोना भाइरसका कारण एक हजार ११५ जनाले ज्यान गुमाइसकेका छन् । हजारौँ कोरोनाको भाइरसबाट सङ्क्रमित छन् ।
सो शहरका मानिस कोरोनाको सङ्क्रमणसँग लडिरहेका बेला कोरोना भाइरसको महामारीले विश्व जगत्को ध्यान तानेको छ । चीनले आफ्ना नागरिकलाई अन्य मुलुक जानमा रोक लगाएको छ । अन्य देशबाट चीनमा गई बसोवास गर्दै आइरहेकाहरु धामधम स्वदेश फर्किरहेका छन् । कोरोनाबाट ज्यान गुमाएका व्यक्तिको सम्झनामा आज काठमाडौँमा दीप प्रज्वलन गरियो ।
मन्त्री, सांसद, नेपालका लागि चिनियाँ राजदूत, कलाकार, पत्रकार तथा सर्वसाधारणको बाक्लो उपस्थितिमा दीप प्रज्वलन गरिएको हो । ट्रान्स हिमालय डेभलपमेन्ट सेन्टरले राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा कलाकार, साहित्यकारले कोरोनाविरुद्धको अभियानमा चीनलाई परेको विपत्तिमा ‘हामीसँगै छौँ’ भन्दै गीत, कविता पस्किए । आफ्नो देशमा परेको सङ्कटप्रति नेपालले देखाएको सहानुभूतिबाट राजदूत होउ यान्छी भावुक देखिन्थे । कलाकारका गीत र मर्मस्पर्शी कविताले दर्शक दीर्घाबाट बारम्बार ताली बर्सियो । राजदूत यान्छीले पनि तालीमा साथ दिए।
विद्यार्थीले सामूहिक गीत प्रस्तुत गरे । कलाकार आनी छोइङ डोल्माको गीत र कवि बलराम दाहालको कविताले सबैलाई मन्त्रमुग्ध बनायो । हास्य कलाकार मनोज गजुरेलले कविताबाट सामाजिक सञ्चालमा कोरोना भाइरसबारे भइरहेका अनावश्यक हल्लाले मानिसमा त्रास उत्पन्न गरेको बताए । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मित्रराष्ट्र चीनमा परेको सङ्कट समाधानमा नेपाल सरकार आवश्यक सहयोग गर्न तयार रहेको बताइन् ।
मन्त्री अर्यालले चीनमा रहेका नेपाली विद्यार्थीसँग सरकार सम्पर्कमा रहेको भन्दै अहिलेसम्म कुनै पनि नेपाली विद्यार्थीमा कोरोनाको सङ्क्रमण नदेखिएको बताइने् । राजदूत यान्छीले कोरोनाविरुद्धको अभियानमा नेपालले दर्शाएको सदासयताप्रति धन्यवाद दिँदै नेपालको सहयोगले चीनलाई थप ऊर्जा प्रदान गरेको बताए । सांसद यज्ञराज सुनुवारले चीन छिमेकी राष्ट्र मात्र नभएर असल मित्र राष्ट्र भएको भन्दै सदियौंदेखिको सम्बन्धलाई थप बलियो बनाउँदै लैजानुपर्ने बताए ।










