ब्लड क्यान्सरपीडित मोक्तानलाई काभ्रे कांग्रेसको ३ लाख २७ हजार सहयोग
प्रदेश कार्यसमितिको अगुवाइमा संकलन भएको ३ लाख २७ हजार १ सय रुपैयाँ बुधबार बागमती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री समेत रहेका नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले बुबा अनिलकुमार मोक्तान र आमा शान्ती तामाङलाई हस्तान्तरण गरे।काठमाडौं, असार २८ : ब्लड क्यान्सरबाट पीडित तेमाल गाउँपालिका वडा नं. ७ का ११ वर्षीय अंकितकुमार मोक्तानको उपचारको लागि नेपाली कांग्रेस काभ्रेले आर्थिक सहयोग गरेको छ। काभ्रे कांग्रेस क्षेत्र नं. १ को प्रदेश सभा १ (क)को अगुवाइमा सहयोग संकलन गरी हस्तान्तरण गरिएको छ।
प्रदेश कार्यसमितिको अगुवाइमा संकलन भएको ३ लाख २७ हजार १ सय रुपैयाँ बुधबार बागमती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री समेत रहेका नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले बुबा अनिलकुमार मोक्तान र आमा शान्ती तामाङलाई हस्तान्तरण गरे।
बाबुको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले नेपाली कांग्रेस प्रदेश १ (क) क्षेत्रीय कार्यसमिति सदस्यबाट संकलित १ लाख १ सय र अन्य सहयोगी दाताबाट संकलित रकम समेत गरी ३ लाख २७ हजार १ सय रकम हस्तान्तरण गरिएको अभियानको संयोजन गरेका नेपाली कांग्रेस प्रदेश १ (क) क्षेत्रीय कार्यसमितिका कोषाध्यक्ष रमेश तामाङले जानकारी दिए।
सहयोग हस्तान्तरण गर्दै मन्त्री लामाले बालकको उपचारको लागि पार्टीका साथीहरुबाट सहयोग संकलन गरी हस्तान्तरण गरिएको बताउँदै सरकारको तर्फबाट पनि उपचारमा सहयोग गर्ने प्रतिवद्धता जनाए। सहयोगप्रति आभारी रहेको जनाउँदै आफ्नो बाबुले नयाँ जीवन पाउने आशा जागेको बताए।
सहयोग हस्तान्तरण कार्यक्रम नेपाली काग्रेस क्षेत्र नं. १ (क) का सभापति राम योञ्जन, तेमाल गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङ, भुम्लु गाउँपालिका उपाध्यक्ष दावा लामा, महाभारत गाउँपालिका उपाध्यक्ष सागर मोक्तान, महाधिवेशन प्रतिनिधी शान्ती तामाङ, नेपाली कांग्रेस क्षेत्र नं १ (क) का उपसभापति रणबहादुर तामाङ, सचिव दावा फेञ्चु लामा, नेपाली कांग्रेस क्षेत्र नं २ (क) का सचिव सजय तामाङ, नेपाली कांग्रेस क्षेत्र नं १ (क) का कोषाध्यक्ष रमेश तामाङलगायतको उपस्थिती थियो।