बैंक तथा वित्तीय संस्थाहरूले छिट्टै ब्याजदर घटाउने अर्थमन्त्रीको भनाइ
सर्वसाधारणबाट बैंक तथा वित्तीय संस्थाहरूले चर्को ब्याजदर असुली गरिरहेको गुनासो आइरहेका बेला अर्थमन्त्री महतबाट यस्तो दाबी आएको हो।काठमाडौं, असार २३ : अर्थमन्त्री डा.प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्थाहरूले छिट्टै ब्याजदर घटाउने दाबी गरेका छन्।
सर्वसाधारणबाट बैंक तथा वित्तीय संस्थाहरूले चर्को ब्याजदर असुली गरिरहेको गुनासो आइरहेका बेला अर्थमन्त्री महतबाट यस्तो दाबी आएको हो।
पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघ, काठमाडौंले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै महतले भने, ‘चर्को ब्याजदर घटाउनका लागि नेपाल राष्ट्र बैंकलाई भनिएको छ। आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा सम्बोधन भएर आउने विश्वास छ।’
उनले अहिलेको ब्याजदर धेरै भएको पनि बताए। ‘पोलिसी रेट घटाउन र पुनर्ताजकीकरण गर्नका लागि पनि सुविधा दिनुपर्छ भन्ने कुरा मैले नेपाल राष्ट्र बैंकमा राखेको छु। सायद केही न केही सम्बोधन होला,’ कार्यक्रममा अर्थमन्त्रीले भने।
अर्थमन्त्री महतले सरकारले आन्तरिक उत्पादनलाई बढावा दिने नीति लिएको पनि बताए। उनले आन्तरिक वस्तुहरूको खपतमा जोड दिन आम उपभोक्तालाई आग्रह समेत गरेका छन्।