जेष्ठ नागरिकको सुख–दुःखमा रोशी गाउँपालिका
आफ्ना बाबुआमा तथा सासु ससुराहरुलाई बृद्ध अवस्थामा स्याहारसुसार, औषधिउपचार, राम्रो बोली व्यवहार गर्ने छोराछोरी तथा बुहारीहरुलाई सम्मान गर्ने गरेको हो।काभ्रे, असार १८ : रोशी गाउँपालिकाले जेष्ठ नागरिकको सुख दुःखमा हातेमालो गर्दै आएको छ। जेष्ठ नागरिकले सम्मान पूर्वक बाच्न पाउने अधिकारलाई सुनिश्चित गर्न गाउँलिका सधैं उनीहरूको रहेको हो।
रोशी गाउँपालिकाले जेष्ठ नागरिकको सम्मानको लागि निःशुल्क स्वास्थ्य बिमादिखि श्रवणकुमार पुरस्कारसम्म वितरण गर्ने गरेको छ। पालिकाले जेष्ठ नागरिकलाई माया, स्नेह र पालन–पोषण गर्ने छोरा, छोरी तथा बुहारीलाई गाउँपालिकाले श्रवणकुमार पुरस्कार प्रदान गरेको छ।
रोशी गाउँपालिकाले श्रवण कुमार पुरस्कार विगत ४ वर्षदेखि निरन्तर रुपमा वितरण गरिरहेको बताएको छ। समाजमा जेष्ठ नागरिकलाई वृद्ध भएकै कारण हेर्ने दृष्टिकोण र गर्ने व्यवहार फरक नहोस्, सबै छोरा बुहारीहरुले आफ्ना बाबु आमाहरुलाई सम्मानपुर्वक व्यवहार गरून् भन्ने उदेश्यले यो पुरस्कारको व्यवस्था गरेको गाउँपालिकाले जनाएको छ।
आफ्ना बाबुआमा तथा सासु ससुराहरुलाई बृद्ध अवस्थामा स्याहारसुसार, औषधिउपचार, राम्रो बोली व्यवहार गर्ने छोराछोरी तथा बुहारीहरुलाई सम्मान गर्ने गरेको हो। पालिकाभित्र रहेका १२ वटा वडाहरुबाट वडा समितिले छनोट गरी पठाएका प्रत्येक वडाका २ जनालाई यो पुरस्कार वितरण गर्ने गरेको गाउँपालिकाले जनाइएको छ।
यस वर्ष पनि गाउँपालिकाले १२ वडाका २४ जनालाई सम्मान गरेको छ । पुरस्कार प्राप्त गर्नेमा वडा नं. १ बाट बाबुलाल भोम्जन र शंकर श्रेष्ठ, वडा नं. २ बाट पूर्णसिं बल र लालबहादुर लामा, वडा नं. ३ बाट देवीमाया तामाङ र कुमार तुम्सिङ मगर, वडा नं. ४ बाट कुलबहादुर रानामगर र सुभद्रा मगर, वडा नं. ५ बाट सुरेन्द्र प्रताप अर्याल र कामीसिंह दोर्जे लामा तथा वडा नं. ६ बाट जीवनकुमार लामा र इन्द्रबहादुर लामालाई पुरस्कार तथा सम्मान वितरण गरिएको छ।
त्यस्तैगरी वडा नं. ७ बाट कुमारीतामाङ र श्रीराम प्याकुरेल, वडा नं. ८ बाट कुमारी तामाङ र नाप्ले तामाङ, वडा नं. ९ बाट साहिला तामाङ र साहर पुलामी मगर, वडा नं. १० बाट रविन्द्र ठकुरी र भिमकृष्ण लामा, वडा नं. ११ बाट नसन्तीकुमारी तामाङ र भीमबहादुर मगर, वडा नं. १२ बाट ङेमा वाङ्जु मुक्तान र पवन ठाडा मगरलाई पुरस्कार तथा सम्मान वितरण गरिएको छ।
गाउँपालिकाले छनोट भएर आउनुभएका जेष्ठ नागरिकका सन्ततिहरुलाई नगद पाँच हजार रुपैयाँ, स(सम्मान खादा र सम्मान पत्रद्वारा सम्मान गरेको हो। हाल सम्म गाउँपालिकाले करिब सय जना व्यक्तिहरुलाई सम्मान पनि गरेको छ।
गाउँपालिकाका अध्यक्ष दिनेश लामाले पालिकाभित्र रहेका प्रत्येक छोराछोरी र छोरा बुहारीमा आफ्नो अभिभावकप्रति आफ्नो जिम्मेवारी र आफ्नो दायित्व बोध गराइ नैतिक शिक्षा दिने उद्देश्यले यो पुरस्कारको स्थापना गरिएको बताए। यस्तै, उपाध्यक्ष भीमबहादुर वाइवाले बुढ्यौली लागेका आफ्ना आमाबुबा र सासू ससुरालाई कसैले पनि हेलाको दृष्टिले हेर्न नहुने कुरामा जोड दिए।
त्यसैगरी रोशी गाउँपालिकाले चालू आर्थिक वर्षदेखि जेष्ठ नागरिकहरुको लागि निःशुल्क स्वास्थ्य बिमाको नितिगत व्यवस्था गरेको छ। रोशी सरकारको जनप्रतिनिधिहरुको दोस्रो कार्यकालदेखि यो योजना ल्याइ लागू गरेको हो।