बजेटले अर्थतन्त्रलाई चलायमान बनाउँछ : अर्थमन्त्री
कास्की, असार १६ : अर्थमन्त्री डा. प्रकाशशरण महतले हाल प्रस्ताव गरिएको बजेटले अर्थतन्त्रलाई चलायमान बनाउने बताएका छन्।
प्रेस युनियन कास्कीले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा अर्थमन्त्री डा. महतले यो बजेटले अर्थतन्त्रलाई चलायमान र देशभित्रै उद्योग व्यवसाय गर्न प्रेरित गरेको बताए।
‘यो बजेटको लक्ष्य लोकप्रिय छ, यसले जे काम गर्न प्रस्ताव अगाडि सारेको छ,’ उनले भने, ‘त्यसले लोकप्रिय परिणाम दिनेछ, त्यसका लागि बाटो तय भएको छ ।’
अर्थमन्त्री महतले हाम्रो सिस्टमभित्र अनुशासनको कमी, समयमा निर्णय नहुने, कार्यान्वयन नहुने, समयमा ठेक्का नलाग्ने, कार्यविधि नबन्ने, जथाभावी रकमान्तर हुने कार्यलाई हामीले पूर्णरुपमा निषेध गरेकाले बजेट परिणाम दिने बताए।
अर्थतन्त्रमा केही समस्या भएको र राजस्व कम उठिरहेको बताउँदै उनले श्रोत साधन सीमित रहेको अवस्थामा बजेट ल्याएको बताए । अर्थतन्त्रको गतिशीलतामा समस्या भएको, लगानीको वातावरण राम्रो नभएको र बैंकमा व्याजदर बढी भएको अवस्थामा क्रमश सुधार संकेट देखिएको बताए।
‘विस्तारै अर्थतन्त्रमा सुधारको संकेत देखिएका छन् । वैदेशिक मुद्रा सञ्चिती पर्याप्त छ, पर्यटन व्यवसाय फस्टाउँदै गएको छ । यसले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुग्छ,’ उनले भने, ‘बैंकको ब्याजदरमा पनि कमी हुन थालेको छ । अझ निर्णायक पहल राष्ट्र बैंकले गर्छ भन्ने मलाई विश्वास छ ।’
नेपालमा पूँजीगत खर्च नहुने ठूलो समस्या आजको वास्तविकता भएको उनले बताए। उनले यो बजेटले दोस्रो चरणको सुधार थाल्नुपर्ने बताउँदै उनले बजेट प्रकृयामा व्यापक सुधार ल्याउने, निश्चित समयभित्र ठेक्का लागिसक्नुपर्नेलगायतका कुराहरु बजेटमा उल्लेख गरिएको बताए।
अर्थमन्त्री डा.महतले राज्यबाट बढी सुविधा लिएर पनि करको दायरामा नआएको वर्गलाई करको दायरामा ल्याएर करको दायरालाई फराकिलो बनाइएको बताए । यसले राजस्वतर्फ निर्धारण गरेको लक्ष्य भेट्न सहज हुने उल्लेख गरे।