पाँचथरमा बाढीपहिरोमा फसेका १२ जनाको हेलिकप्टरबाट उद्धार
तीन घरका सदस्य रहेका उनीहरूलाई उद्धार गरी च्याङथापुस्थित विष्णु माविमा राखिएको जनाइएको छ।
पाँचथर, असार ४ : नेपाली सेनाको टोलीले पाँचथरमा बाढीपहिरोका कारण फसेका १२ जनाको उद्धार गरेको छ।
केही दिनदेखिकाे अविरल वर्षाका कारण बाढीपहिरो आउँदा आइतबार रातिदेखि पाँचथर याङवारक गाउँपालिका १ फेदीमा फसेका १२ जनालाई आज (साेमबार) बिहान नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। तीन घरका सदस्य रहेका उनीहरूलाई उद्धार गरी च्याङथापुस्थित विष्णु माविमा राखिएको जनाइएको छ।
उद्धार गरिनेमा पाँचथर याङवारक गाउँपालिका १ बस्ने वर्ष ६० का नरमाया गुरूङ, उनका नाति वर्ष १६ का सन्दीप गुरूङ र नातिनी हिमा गुरूङ छन्। त्यस्तै ८० वर्षीय कृष्णबहादुर गुरूङ, उनकी श्रीमती ६० वर्षीया डिकमाया गुरूङ, उनका छोरा ३५ वर्षीय काजुहाङ गुरूङ र बुहारी ३० वर्षीय सुनिता गुरूङको पनि उद्धार गरिएको छ ।
उद्धार गरिने अन्यमा ४३ वर्षीय मनबहादुर गुरूङ, उनकी श्रीमती ४४ वर्षीया मन कुमारी गुरूङ, छोरी१६ वर्षकी सुस्मा गुरूङ, सोही स्थानका ७० वर्षीय पदम बहादुर खालिङ र उनकी श्रीमती ६८ वर्षीया मनमाया खालिङ रहेकाे प्रहरीले जनाएको छ।












-(86)-1764936079.jpg)