बेथानचोकको वडा नं.१ अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा
अध्यक्ष अधिकारीले समग्र समाजको उन्नति र खुसी शिक्षाले मात्र दिन सक्ने र शिक्षाले नै देश सुसंस्कृत, शान्त र समृद्ध बन्ने भएकाले शिक्षामा लगानी आवश्यक रहेको उल्लेख गरे।काभ्रे, असार ४ : बेथानचोक गाउँपालिकाको वडा नं. १ लाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गरिएको छ। सोमबार एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष भगवान अधिकारीले वडा नं. १ लाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गरेका हुन्।
सो कार्यक्रममा अध्यक्ष अधिकारीले शिक्षा जीवनको अनिवार्य शर्त भएको बताए । उनले समग्र समाजको उन्नति र खुसी शिक्षाले मात्र दिन सक्ने र शिक्षाले नै देश सुसंस्कृत, शान्त र समृद्ध बन्ने भएकाले शिक्षामा लगानी आवश्यक रहेको उल्लेख गरे।
राज्यले नीतिगत रुपमा विद्यालयस्तरको शिक्षालाई अनिवार्य गरेकोले यसलाई र्मूर्तरुप दिन आफूहरू लागिपरेको र शिक्षा निःशुल्क नै हुने रहेछ भन्ने आम नागरिकमा अनुभुति दिलाउन अनिवार्य र निःशुल्क शिक्षा कार्यान्वयनमा गाउँपालिकाले दत्तचित्त भएर कार्य गरेको बताए। उनले शैक्षिक क्षेत्रमा लगानी भएन भने स्थानीय सरकारले आफ्नो सामथ्र्यको विकास गर्न नसक्ने कुरा औंल्याए।
अध्यक्ष अधिकारीले कुनै पनि भूगोलको शिक्षामा आमूल परिवर्तन ल्याउन बालबालिका, शिक्षक, अभिभावक, स्थानीय समुदायको सक्रिय सहभागिता र स्थानीय सरकारको उत्तरदायीपूर्ण भूमिका आवश्यक रहेको बताए।
कार्यक्रममा बेथानचोक गाउँपालिका शिक्षा शाखा प्रमुख पुष्पा राईले नेपालको संविधानले शिक्षालाई मौलिक हकको रुपमा राखेका र प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क पाउने प्रावधान अनुरुप नेपाल सरकारले १९ असोज २०७७ मा ‘अनिवार्य र निःशुल्क शिक्षा सम्बन्धी नियमावली–२०७७’ लागू गरेको बताइन्।
शाखा प्रमुख राईले सामुदायिक विद्यालयले माध्यमिक तहसम्मको शिक्षामा विद्यार्थी भर्ना शुल्क, मासिक पढाइ शुल्क, परीक्षा शुल्क र पाठ्यपुस्तक वापतको रकम यी शीर्षकमा कुनै पनि शुल्क लिनु हुँदैन’ भनेको स्मरण गाराउँदै सोही अनुरुप गाउँपालिका भित्रका विद्यालयहरुलाई शुल्न नलिन आग्रह गरिन्।
उनले गाउँपालिकाका सबै वडाहरू अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा भइसकेकाले अब गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गाउँपालिका घोषणा गरिने पनि बताइन्।
कार्यक्रममा वडाध्यक्ष मधुसुधन तिमल्सिनाले वडालाई अनिवार्य तथा निःशुल्क वडा कार्यान्वयन घोषणाका लागि प्रस्ताव गरेका थिए। सोही प्रस्ताव बमोजिम अध्यक्ष अधिकारीले अनिवार्य तथा निःशुल्क वडा कार्यान्वयन वडा घोषणा गरेका थिए।
कार्यक्रममा जनप्रतिनिधि, वडा भित्रका विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष, दलीय प्रतिनिधि, शिक्षक, विद्यार्थी, अभिभावकहरुको उपस्थिति थियो।