ताप्लेजुङमा बाढीले पुल बगायो, वर्षाले जनजीवन प्रभावित
दुई दिनदेखिको अविरल वर्षाका कारण सिरीजंघा र सिदिङ्वा गाउँपालिकाका विभिन्न क्षेत्रमा बाढी, पहिरोले क्षति पुगेको छ। निरन्तरको वर्षाले थप जोखिम बढेकाले यहाँका नागरिक त्रसित बनेका छन्।
ताप्लेजुङ, जेठ ३२ : अत्यधिक वर्षाका कारण ताप्लेजुङको पूर्वी क्षेत्रको जनजीवन प्रभावित भएको छ।
दुई दिनदेखिको अविरल वर्षाका कारण सिरीजंघा र सिदिङ्वा गाउँपालिकाका विभिन्न क्षेत्रमा बाढी, पहिरोले क्षति पुगेको छ। निरन्तरको वर्षाले थप जोखिम बढेकाले यहाँका नागरिक त्रसित बनेका छन्।
बिहीबार राति आएको बाढीले सिरीजङ्घाको खेवाङ र सिदिङ्वाको मेहेले जोड्ने तावाखोलामाथिको मोटरेवल पुल बगाएको छ। एक महिनाअघिदेखि सञ्चालनमा आएको उक्त पुलको आधा भाग बाढीले बगाएको स्थानीयले बताए । सिरीजङ्घा गाउँपालिका–८ याम्फुदिनमा दुई वटा जलविद्युत् आयोजनामा बाढीले क्षति पुगेको छ। स्थानीय पेम्बा शेर्पाका अनुसार आठ किलोवाट क्षमताको जलविद्युत्को पावर हाउस बाढीले बगाएको छ भने अर्को १५ किलोवाटको पाइप बगाएको छ।
यस्तै स्थानीय जगतबहादुर राईको एक घर बाढीकै कारण जोखिममा परेको छ । यता सिदिङ्वा गाउँपालिकाको सुरुम्खिमका विद्यालय बिहीबारदेखि नै वर्षाका कारण बन्द गरिएका छन्। अत्यधिक वर्षाले बाडी पहिरोको जोखिम रहेकाले विद्यालय बन्द गरिएको हो। निरन्तर वर्षा भइरहेकाले जनजीवन त्रसित बनेको खेवाङका शिक्षक विनम माबोले बताए।












-(86)-1764936079.jpg)