ऋण लिएपछि तिर्नुपर्छ, लघुवित्तको योगदान भुल्नुहुँदैन : गभर्नर अधिकारी
‘ऋण लिएर पीडित कोही हुँदैन, ऋण लिने लाभग्राही हो। कोही सडकमा आएर कराउँदैमा त्यसको योगदानलाई भुल्नुहुँदैन, हामी यसलाई नियमनमा ल्याउँछौं।’काठमाडौं, जेठ ३२ : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लघुवित्तको योगदान भुल्न नहुने बताएका छन्।
आगामी मौद्रिक नीतिबारे नेपाल व्यवस्थापन संघले बिहीबार आयोजना गरेको छलफलमा बोल्दै उनले भने, ‘ऋण लिएर पीडित कोही हुँदैन, ऋण लिने लाभग्राही हो। कोही सडकमा आएर कराउँदैमा त्यसको योगदानलाई भुल्नुहुँदैन, हामी यसलाई नियमनमा ल्याउँछौं।’
उनले ऋण लिएर कोही कमजोर नहुने र ऋण लिएपछि तिर्नुपर्ने बताए। लघुवित्तका विषयमा अध्यनन भइरहेको पनि उनले बताए।
कोभिड १९ महामारीका बेला आर्थिक पुनरुत्थानका लागि खुला मौद्रिक नीति अपनाइए पनि आगामी मौद्रिक नीति कडा आउने संकेत उनले गरे।
निजी क्षेत्रमा कर्जाको रि–पेमेन्टका लागि गाह्रो अवस्था रहेको र चालुपूँजीको चेन ब्रेक भएको पनि उनले बताए। केन्द्रीय बैंकको पहिलो दायित्व मुद्रास्फीति नियन्त्रण, बाह्य क्षेत्र स्थायित्व र वित्तीय स्थायित्व रहेको उनले बताए।
सरकारको आन्तरिक ऋण नवीकरण नहुने हो भने यो वर्ष उठाउने खुद आन्तरिक ऋण ठूलो नभएको र यसले दबाब नहुने गभर्नर अधिकारीले बताए।