विराटनगरलाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने गुरुयोजना तयार
काठमाडौं, माघ २३ : आगामी पाँच वर्षभित्र विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने गुरुयोजना तयार भएको छ।
अहिले आन्तरि....
काठमाडौं, माघ २३ : आगामी पाँच वर्षभित्र विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने गुरुयोजना तयार भएको छ।
अहिले आन्तरिक उडान भइरहेको विराटनगर विमानस्थलबाट अबको पाँच वर्षपछि एटिआर र बोइङजस्ता मझौला विमानबाट अन्तर्राष्ट्रिय उडान हुने गरि गुरुयोजना तयार गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ।
यसका लागि विमानस्थल विस्तारको गुरुयोजना निर्माण गरिएको प्राधिकरणका राष्ट्रिय गौरवका आयोजना तथा पूर्वाधार निर्देशनालयका निर्देशक प्रदीप अधिकारीले बताए।
उनका अनुसार २०८२ भित्र विराटनगर विमानस्थलको धावनमार्ग विस्तार गरेर काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सरह बनाइनेछ। यसको धावनमार्ग एक हजार ६ सय ४० मिटर लामो बनाइनेछ। अहिले एक हजार पाँच सय २० मिटर लामो धावनमार्ग रहेको छ।
के–के छ गुरुयोजनामा?
आन्तरिक उडानमा प्रयोग भएको टर्मिनल भवन पूरानो भएकाले नयाँ टर्मिनल भवन निर्माण गरिनेछ। त्यस्तै, विमानस्थलमा कार्यरत कर्मचारीहरुलाई लक्षित गरि १६ परिवारलाई राख्न मिल्ने गरि कर्मचारी आवास भवन निर्माण हुनेछ।
विमानस्थल विस्तारका लागि अवाश्यक पर्ने एक सय २६ विघा जग्गा अधिग्रहण गरिनेछ। जसमा चार अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
गुरुयोजना अनुसार, विराटनगरलाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउन ४७ अर्ब ७१ करोड रुपैयाँ लाग्नेछ।
यसका लागि आवश्यक जग्गा अधिग्रहण, नयाँ टर्मिनल भवन निर्माण, तीन हजार मिटर लामो धावनमार्ग निर्माण गर्न, टक्यासी वे निर्माण, करिव दुई सय सवारीसाधन पार्किङ गर्न मिल्ने पार्किङ स्थल निर्माण गरिनेछ। जसमा भौतिक निर्माणतर्फ चार अर्ब र जग्गा अधिग्रहणमा चार अर्ब गरि आठ अर्ब लाग्ने जनाएको छ।
दुई वर्षमा ३० करोड खर्च
आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ मा विराटनगर विमानस्थल विस्तारमा ३० करोड रुपैयाँ खर्च गरिएको थियो। जसमा धावनमार्गको ओभर–ले, ट्याक्सी–वे निर्माण, हेलिप्याड निर्माणलगायतका काम गरिएको छ।
सन् १९५८ जुलाइ ६ देखि सञ्चालनमा आएको यो विमानस्थलमा अहिले तीन वटा एटिआर ७०० र साना चारवटा विमान गरि सात वटा विमान राख्न मिल्ने पार्किङ–वे रहेका छन्।
विराटनगरसँगै नेपालगञ्ज, धनगढी र महेन्द्रनगर विमानस्थललाई पनि क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा रुपान्तरण गरिने जनाएको छ।










-1754206481.jpg)
