यो बजेट अर्थतन्त्र चलायमान बनाउँछ : अर्थमन्त्री डा महत
‘केही समूहलाई बजेटबारे चित्त बुझेको छैन, दृढ अठोटका साथ कुनै स्वार्थ समूहको कुरा नसुनी बजेट निर्माण गरेका हौं । बजेटले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुग्छ, बजेटले सबै क्षेत्रलाई समेटेको छ,’ उनले भने ।
काठमाडौं, जेठ २९ : अर्थमन्त्री डा. प्रकाशशरण महतले वर्तमान बजेटले मुलुकको अर्थतन्त्र चलायमान बनाउने बताएका छन्।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ५ ले सोमबार आयोजना गरेको क्षेत्रीय सम्मेलनमा उनले देश र जनतालाई केन्द्रविन्दूमा राखेर अर्थतन्त्रलाई चलायमान बनाउने ढंगले बजेट निर्माण भएको दाबी गरे।
‘केही समूहलाई बजेटबारे चित्त बुझेको छैन, दृढ अठोटका साथ कुनै स्वार्थ समूहको कुरा नसुनी बजेट निर्माण गरेका हौं,’ उनले भने, ‘बजेटले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुग्छ, बजेटले सबै क्षेत्रलाई समेटेको छ ।’
निरपेक्ष भावका साथ बजेट निर्माण गरिएको डा. महतको भनाई थियो । उनले आफ्नो अठोट देश र जनताप्रति भएको स्पष्ट पारे।
‘हाम्रा आकांक्षाहरू धेरै छन् तर स्रोत र साधन सीमित छन्, भएका स्रोत साधनलाई उच्चतम प्रयोग गरी अर्थतन्त्रलाई चलायमान बनाउन लाग्नुपर्छ,’ उनले भने।











