अर्थतन्त्रका मुख्य सूचकहरु सकारात्मक : राष्ट्र बैंक
राष्ट्र बैंकले जनाए अनुसार बैशाख मसान्तसम्म शोधानान्तर स्थिति २ खर्ब १४ अर्ब ६७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ८८ अर्ब ५० करोडले घाटामा रहेको थियो ।काठमाडौं, जेठ २६ : राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९÷०८० को दश महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गर्दै मुलुकको अर्थतन्त्रका मुख्य सूचकहरु सकारात्मक रहेको बताएको छ। गत साउनदेखि वैशाखसम्मको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक भएको हो।
प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको १० महिनाको अवधिमा शोधनान्तर स्थिति (भुक्तानी सन्तुलन) बचतमा देखिएको छ। राष्ट्र बैंकले जनाए अनुसार बैशाख मसान्तसम्म शोधानान्तर स्थिति २ खर्ब १४ अर्ब ६७ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ८८ अर्ब ५० करोडले घाटामा रहेको थियो।
यस्तै विस्तृत मुद्राप्रदाय ६.९ प्रतिशतले बढेको छ भने वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १० प्रतिशतले बढेको छ। यता, चालु आर्थिक वर्षको सुरुदेखि नै चापमा रहेको वैदेशिक मुद्राको सञ्चिति पछिल्लो समय भने झण्डै १० महिनाको वस्तु तथा सेवा धान्न सक्ने अवस्थामा छ। हाल १४ खर्ब ७० अर्ब ३३ करोड रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चित रहेको प्रतिवेदनमा उल्लेख छ।
जुन चैत महिनासम्मको सञ्चितिभन्दा ३६ अर्ब ६० अर्ब रुपैयाँ बढी हो। चैतसम्म १४ खर्ब ३३ अर्ब ७३ करोड रुपैयाँ विदेशी मुद्राको सञ्चिति थियो। यसअवधिमा ९.४ महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्ने अवस्था थियो। वैशाखसम्मको सञ्चितिले भने ९.७ महिनाको वस्तु तथा सेवा आयात धान्ने अवस्था आएको जनाइएको छ।
गत बर्षको असार मसान्तसम्म विदेशी मुद्राको सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रहेको थियो। वैशाखसम्म आइपुग्दा सञ्चितिमा २०.९ प्रतिशत थप भएको छ। अमेरिकी डलरमा २०७९ असार मसान्तसम्म ९ अर्ब ५४ करोडको सञ्चिति रहेकोमा २०८० वैशाखसम्म ११ अर्ब २१ करोड देखिएको छ। प्रतिवेदन अनुसार विप्रेषण (रेमिट्यान्स) को आप्रवाह बढेको छ। चालु आर्थिक वर्षको १० महिनामा रेमिट्यान्स आप्रवाह नेपाली रुपैयाँमा २३.४ प्रतिशतले बढेको हो।
चालु आर्थिक वर्षको १० महिनामा १० खर्ब ५ अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ०.५ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १३.४ प्रतिशतले वृद्धि हुँदै ७ अर्ब ७० करोड अमेरिकी डलर रहेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १.२ प्रतिशतले घटेको थियो।
यस्तै १० महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ५१.४ प्रतिशतले वृद्धि भइ ४ लाख २१ हजार दुई सय ७९ रहेको छ। वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या १० महिनामा ३.७ प्रतिशतले वृद्धि भइ २ लाख ३८ हजार ९७६ पुगेको छ।
मूल्यवृद्धि पनि घटेको तथ्य प्रतिवेदनले उजागर गरेको छ। वैशाख मसान्तसम्म उपभोक्ता मुद्रास्फिति ७.४१ प्रतिशत रहेको छ। वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फिति भने ९.४१ प्रतिशत रहेको छ।
अघिल्लो वर्षको सोही अवधिमा उपभोक्ता मुद्रास्फिति ७.८७ प्रतिशत थियो। खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फिति ५.५४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फिति ८.८९ प्रतिशत रहेको जनाइएको छ। दश महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फिति ३.३१ प्रतिशत रहेको छ। मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ७.०४ प्रतिशत र ४.३३ प्रतिशत रहेको छ। उपभोग्य वस्तुको थोक मूल्य ३.१२ प्रतिशतले घटेको छ। निर्माण सामग्रीको थोक मूल्यवृद्धि २.६८ प्रतिशत छ।