वातावरण दिवसमा ढुंखर्क बजार क्षेत्रको सफाइ
बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले प्रकृति सबैको साझा भएको र मानव समाज प्राकृतिक वातावरणको एक महत्वपूर्ण अंग भएकोले यसको संरक्षण गर्नु सबैको दायित्व भएको बताए ।काभ्रे, जेठ २२ : काभ्रेको बेथानचोक गाउँपालिका वडा नं. २ को आयोजना तथा विभिन्न संघ संस्थाको सहकार्यमा ढुंखर्क बजार क्षेत्रको सरसफाइ गरिनुका साथै विशेष चेतनामूलक कार्यक्रम आयोजना भएको छ।
ग्रामिण विकास संस्था (एआरडी), लग्जम्वर्गको बालबालिका र महिलाको क्षेत्रमा काम गर्ने संस्था एइआईएन, सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बेथानचोक जेसीज, लायन्स क्लब अफ बेथानचोक, पार्वती एल्मुनाई एशोसियशन, पार्वती मा.वि. कृष्णगोपाल मा.वि., पार्वती क्याम्पस, नयाँबस्ती टोल सुधार समिति, हातेमालो युवा समाजलगायतका स्थानीय संघ संस्थाहरुको सहभागातीमा सरसफाई तथा ¥याली गरिएको छ।
वातावरण दिवसको अवसरमा आयोजना गरिएको सरफाई र चतनामूलक र्यालीपछि पाट्ने खोलामा कोणसभामा आयोजना गरिएको थियो।
सभालाई सम्बोधन गर्दै बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले प्रकृति सबैको साझा भएको र मानव समाज प्राकृतिक वातावरणको एक महत्वपूर्ण अंग भएकोले यसको संरक्षण गर्नु सबैको दायित्व भएको बताए । उनले पृथ्वी र प्रकृतिको संरक्षण गर्दै वातावरणीय सन्तुलन कायम गर्ने कर्तव्य तथा जिम्मेवारी सबैको भएकोले वातावरण दिवसको अवसरमा स्वस्थ एवं स्वच्छ वातावरण सिर्जनाको प्रण गर्न सबैलाई आग्रह गरे।
अध्यक्ष अधिकारीले अमूल्य प्राकृतिक स्रोतहरूको संरक्षण गर्दै वातावरण जोगाउनु सबै पालिकाबासीको दायित्व भएको उल्लेख गरे । नेपालको संविधानले सबै नेपालीका लागि स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हक सुनिश्चित गरेको र आफूहरुले पनि गाउँपालिकाको वातावरणीय सन्तुलन कायम गर्न विभिन्न गतिविधि गरिरहेको उनको भनाई थियो।
वातावरण संरक्षणका लागि विभिन्न संघ संस्थाहरुसँग पनि सहकार्य भइरहेको उनले सो अवसरमा बताए । जैविक विविधता, भूक्षय, प्रदूषण तथा जलवायु परिवर्तनका समस्याहरूले प्रकृतिको असर परे पनि यसबाट मानव र पृथ्वीबासी अन्य जीव जिवात्मा नै पिडित हुने भएकोले स्वच्छ र स्वस्थ जीवन निर्वाहका लागि बेथानचोकको प्राकृतिक वातावरणलाई दिगो संरक्षण गर्दै प्राकृतिक सन्तुलन कायम राख्न सबै एकतावद्ध हुन आवश्यक रहेको अध्यक्ष अधिकारीले बताए।
कार्यक्रममा वडा नं. २ का अध्यक्ष पुरुषोत्तम तिमल्सिनाले जसरी अघिल्लो पुस्ताले वर्तमान पुस्ताका लागि स्वच्छ र हराभरा प्रकृति छोडेर गएका छन वर्तमान पुस्ताले पनि भावी सन्ततिका लागि वातावरण जोगाएर राख्न आवश्यक रहेको जीकिर गरे। उनले क्याम्पस तथा विभिन्न विद्यालयका विद्यार्थी कार्यक्रममा सहभागी हुनु पुस्तामा जिम्मेवारी हस्तान्तरण भएको बताए।
कार्यक्रममा ग्रामिण विकास संस्था (एआरडी)का कार्यक्रम व्यवस्थापक भीम राईले यस वर्षको विश्व वातावरण दिवसको नारा ‘प्लास्टिकजन्य प्रदूषणको निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं’ राखिनु अर्थपूर्ण रहेको बताए। उनले एक वर्षको समयावधिमा विश्वमा करिब ४३ करोड टन प्लास्टिक उत्पादन हुने र त्यसको १० प्रतिशत मात्र पुनः प्रयोग भएपनि बाँकी दुई करोड ३० लाख टन प्लास्टिक जमिन तथा पानीमा मिसिने हुँदा प्रकृति दिनानुदिन जोखिममा रहेको बताउँदै प्लाष्टिकजन्य सामग्रीको विकल्प आवश्यक रहेको बताए।