Kathmandu Press

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइएलएस प्रणाली सञ्चालनको बाटो खुल्यो

‘भारत सरकारले नेपाल–भारत सीमा नजिक रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘इन्स्ट्र्युमेन्ट ल्यान्डिङ सिस्टम’बाट उडानसम्बन्धी स्वीकृति दिएकोमा प्रशंसा गर्दछु । यसबाट सुरक्षित र पूर्णक्षमतामा हवाई उडान हुनेछ’
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइएलएस प्रणाली सञ्चालनको बाटो खुल्यो

काठमाडौं, जेठ १८ : भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरणमा आधारित अवतरण प्रणाली ‘इन्स्ट्र्युमेन्ट ल्यान्डिङ सिस्टम’ (आइएलएस) सञ्चालनको बाटो खुलेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच हैदराबाद हाउसमा भएको भेटपछि आयोजित पत्रकार सम्मेलनमा आइएलएस प्रणाली सञ्चालनको बाटो खुलेको प्रधानमन्त्री पुष्पकमल दहालले जानकारी दिए।

Hardik ivf

‘भारत सरकारले नेपाल–भारत सीमा नजिक रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘इन्स्ट्र्युमेन्ट ल्यान्डिङ सिस्टम’बाट उडानसम्बन्धी स्वीकृति दिएकोमा प्रशंसा गर्दछु । यसबाट सुरक्षित र पूर्णक्षमतामा हवाई उडान हुनेछ’, प्रधानमन्त्री दाहालले भने।

उनले नवनिर्मित भैरहवा र पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका विभिन्न सहरमा उडानको अपेक्षा गरेको बताए।

प्रधानमन्त्री दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई देशबीचको उडानको सम्भावना भएको र भारतबाट अतिरिक्त हवाई प्रवेश विन्दु दिन सकारात्मक रहेको जानकारी गराए। उनले भने, ‘भैरहवा विमानस्थलबाट एटीआर एयरक्रयाफ्टको उडान सम्भव भइसकेको छ। अब, महेन्द्रनगरबाट हवाई प्रवेश विन्दुको अनुमतिका लागि हामीले भारत सरकारसमक्ष अनुरोध गरेका छौं।’
 
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइएलएस प्रणाली जडान भए पनि लामो समयदेखि सञ्चालनमा आउन सकेको थिएन। यो प्रणाली सञ्चालनमा आउने वित्तिकै जुनसुकै मौसममा पनि जहाजले उपकरणमा आधारित प्रणालीमा रहेर जहाज अवतरण गराउन सक्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले बताए।

यसअघि यो प्रणाली जडान भए पनि नेपाल भारत सीमाका कारण भारतबाट सञ्चालनको अनुमति नआउँदा जाडो याममा हुस्सु लाग्दा जहाजले उडान नै रद्द गर्नुपरेको थियो।

हाल विमानस्थलमा सामान्य अवस्थामा विमान अवतरणका लागि एक हजार पाँच सय मिटर भिजिविलिटी आवश्यक पर्छ । तर आइएलएस कार्यान्वयन हुँदा कम्तीमा आठ सय मिटरको भिजिविलिटीमा पनि विमान अवतरण गराउन सकिन्छ।

 

प्रकाशित मिति: २१:१७ बजे, बिहीबार, जेठ १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्