२५ वर्षमा एक खर्ब २३ अर्ब रूपैयाँ बराबरको बिजुली निःशुल्क
काठमाडौं, जेठ १८ : ६६९ मेगावाट क्षमताको तल्लो अरूण जलविद्युत आयोजना भारतीय कम्पनी सतलज विद्युत निगम (एसजेभिएन) निर्माण गर्ने सम्झौतामा हस्ताक्षर भइसकेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा लगानी बोार्डका प्रमुख कार्यकारी अधिकृत शुसिल भट्ट र सतलज निगमका सिएमडिए एनएल शर्माबीच सम्झौता भएको हो।
परियोजना २५ वर्षपछि नेपालको पूर्ण स्वामित्वमा आउनेछ।
जलविद्युत परियोजना निर्माणका लागि लगानी बोर्ड, नेपालले ९२ अर्ब ६८ करोड रुपैयाँ बराबर लगानी स्वीकृत गरिसकेको छ। सम्झौता अनुसार नेपालले २१ प्रतिशत बिजुली निःशुल्क पाउने छ। बाँकी रहेको बिजुली नेपाल सरकारलाई रोयल्टी तिरेर सतलज निगमले भारतीय बजारमा लैजानेछ। बोर्डले जनाए अनुसार परियोजनाबाट २५ वर्षमा नेपालले करिब एक खर्ब २३ अर्ब रूपैयाँ बराबरको बिजुली निःशुल्क पाउँछ।
यसैगरी क्यापासिटी रोयल्टी र एनर्जी रोयल्टीलगायत गरी यो परियोजनाबाट कुल एक खर्ब ८७ अर्ब बराबर रकम सरकारलाई प्राप्त हुने छ। परियोजना निर्धारित समयमै निर्माण सम्पन्न गर्ने गरी पूर्वतयारी अघि बढेको जनाइएको छ।
परियोजनाको पावरहाउसबाट निस्किएको पानी पानीलाई छुट्टै जलाशय बनाएर १७ किलोमिटर लामो टनेल बनाउने र तल्लो अरूणको पावर हाउसमा पुर्याएर बिजुली निकाल्ने योजना छ। अर्ध जलाशययुक्त आयोजना निर्माणमा हुने ९२ अर्ब ६८ करोड रूपैयाँ लागत सतलजकै हुनेछ।
सम्झौताअनुसार भारतीय कम्पनी सतलज विद्युत निगमले बिजुली उत्पादन सुरू गरेपछि ११ हजार अमेरिकी डलर प्रतिमहिना लगानी बोर्डलाई बुझाउने र वातावरणीय शुल्कबापत २८ हजार आठ सय अमेरिकी डलर प्रतिमहिना तिर्नुपर्ने छ। साथै, आयोजना निर्माण सामग्रीमा भन्सार छुट हुनेछैन।