Kathmandu Press

रास्वपाले भन्यो, ‘चौधरीलाई आममाफी दिनु पीडितका लागि अन्याय’

आइतबार राती पार्टीका प्रवक्ता मुकुल ढकालले एक विज्ञप्ति जारी गरी टीकापुरमा घटनामा दोषी ठहरी तीनै तहको अदालतबाट जन्म कैदको सजाय पाएका चौधरीलाई आममाफी दिनु पीडितका लागि अन्याय भएको बताएका हुन् । विज्ञप्तिमा सरकारको यो कदम पूर्वाग्रही र आममाफीको मर्मविपरित रहेको समेत बताइएको छ । 
रास्वपाले भन्यो, ‘चौधरीलाई आममाफी दिनु पीडितका लागि अन्याय’

काठमाडौं, जेठ १५ : राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्व सांसद रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ । 

आइतबार राती पार्टीका प्रवक्ता मुकुल ढकालले एक विज्ञप्ति जारी गरी टीकापुरमा घटनामा दोषी ठहरी तीनै तहको अदालतबाट जन्म कैदको सजाय पाएका चौधरीलाई आममाफी दिनु पीडितका लागि अन्याय भएको बताएका हुन् । विज्ञप्तिमा सरकारको यो कदम पूर्वाग्रही र आममाफीको मर्मविपरित रहेको समेत बताइएको छ । 

विज्ञप्तिमा भनिएको छ ,‘प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयंले सदनको रोस्टमै उभिएर चौधरीलाई छुटाउन विद्यमान कानुनमा संशोधन गरेर होस् या अन्य तरीकाले सरकार लागिपरेको कुरा खुलेर बताउनुभयो । सरकारको यो कदम पूर्वाग्रही तथा आममाफीको मर्म विपरीत मात्र नभई पीडितका सन्दर्भमा अन्यायपूर्ण समेत रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको ठहर छ ।’

रास्वपाले आममाफीको व्यवस्था भनेको कैद भुक्तानी गरिरहेका व्यक्तिको चालचलन तथा अन्य मानवीय अवस्थालाई विचार गरी निजलाई सत्मार्गमा अगाडि बढ्न दिइने एक अवसर भएको बताउँदै चौधरीको हकमा भने त्यो लागू नहुने बताएको छ ।

राजनीतिक अभियानका क्रममा कुनै पनि समुदायका निर्दोष नागरिकहरू पीडित हुन नहुने बताउँदै रास्वपाले राजनीतिक आन्दोलनको आवरणमा हुने जघन्य अपराध क्षम्य हुन नसक्ने स्पष्ट पारेको छ । सो पार्टीले टीकापुर घटनाको छानबिन गर्न सरकारद्वारा गठित लाल आयोगको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न समेत माग समेत गरेको छ । 

मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् बैठकको सिफारिसमा चौधरीसहित १९ जनाको कैद सजाय माफी गरेका थिए । 

Rasapa1685295259.jpg

प्रकाशित मिति: ०६:२८ बजे, सोमबार, जेठ १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्