उपलब्धिलाई रक्षा गर्दै अघि बढ्न सरकार र आम नागरिकलाई सभामुख घिमिरेको अपिल
गणतन्त्र दिवस–२०८० को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकाससँगै देशको समृद्धि र सुशासन आजको प्रमुख आवश्यकता रहेको उल्लेख गरेका छन् ।
काठमाडौं, जेठ १५ : सभामुख देवराज घिमिरेले गणतन्त्र प्राप्ति र त्यसका उपलब्धिलाई रक्षा गर्दै अघि बढ्न सरकार, राजनीतिक दल, प्रशासन संयन्त्र तथा आम नागरिकलाई अपिल गरेका छन् ।
गणतन्त्र दिवस–२०८० को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकाससँगै देशको समृद्धि र सुशासन आजको प्रमुख आवश्यकता रहेको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, “हाम्रा आन्दोलनले व्यवस्थामा परिवर्तन ल्याए पनि अवस्थामा खासै परिवर्तन नभएको आम अनुभूति छ, नागरिकका विकासका चाहना, समृद्धिका अपेक्षा र सेवा प्रवाहका लागि अपेक्षित सहजता प्रदान गर्न अझै प्रयत्न गर्नुपर्ने आवश्यकता देखिएको छ भने सुशासनका पक्षमा निर्ममतापूर्वक काम गर्न जनताको प्रयत्न उत्तिकै बलशाली हुँदै गएको छ ।”
सभामुख घिमिरेले लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न आफ्नो अमूल्य जीवन बलिदान गर्ने अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनास्वरूप हामीले प्रत्येक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसको रूपमा मनाउँदै आएको स्मरण गरेका छन् ।
उनले लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि विभिन्न समयमा भएका आन्दोलनमा नेतृत्व गर्ने राजनीतिक दल, राजनीतिक कार्यकर्ता, नागरिक समाज एवं आम जनसमुदायको योगदानको स्मरण गरे । नेपालमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रका लागि पटक–पटक आन्दोलन भएको भन्दै सभामुख घिमिरेले आन्दोलनको जगमा बनेको संविधानसभाले निर्माण गरेको सङ्घीयतासहितको संविधान कार्यान्वयन भइसकेको उल्लेख गरेका छन् ।