भारत भ्रमणका विषयमा प्रधानमन्त्रीद्वारा पूर्वप्रधानमन्त्रीलगायत दलका नेतासँग छलफल
पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, विभिन्न दलका नेता र यस क्षेत्रका विज्ञहरुसँग सुझाव लिने क्रम निरन्तर रहेको जनाउँदै प्रधानमन्त्री दाहालले सबैको सुझाव सकारात्मक भएको र सबैले राष्ट्रको हितमा कुरा गर्नु सुझाएको बताए।
काठमाडौं, जेठ १४ : प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, विभिन्न दलका नेता र परराष्ट्र मामिलाका जानकारसँग छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उले आफ्नो आसन्न भारत भ्रमणलाई फलदायी बनाउने सन्दर्भमा सुझाव लिएका हुन्।
पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, विभिन्न दलका नेता र यस क्षेत्रका विज्ञहरुसँग सुझाव लिने क्रम निरन्तर रहेको जनाउँदै प्रधानमन्त्री दाहालले सबैको सुझाव सकारात्मक भएको र सबैले राष्ट्रको हितमा कुरा गर्नु सुझाएको बताए।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूले द्विपक्षीय सम्बन्ध राम्रो बनाउन सर्वप्रथम दुई देशबीच विश्वासको वातावरण हुनुुपर्ने सुझाव दिएको बताए। उनले प्रधानमन्त्री दाहाललाई दुई देशबीचका विभिन्न मुद्दा समाधानका लागि प्रबुद्ध व्यक्ति समूह (इपिजी)को प्रतिवेदन ग्रहण गर्नुपर्ने बताउँदै यसले समग्रतामा हल हुने सुझाव दिएको बताए।
पूर्वपरराष्ट्रमन्त्री डा. नारायण खड्काले कार्यक्रममा प्रधानमन्त्री दाहालले दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउन र आर्थिक व्यापारिक, वाणिज्य, ऊर्जालगायत विविध विषयमा छलफल र सहमति हुने जानकारी गराएको बताए।
अर्का पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको राष्ट्रिय हितमा दृढतापूर्वक उभिँदा प्रमुख प्रतिपक्ष दलको हिसाबले पूर्ण समर्थन हुने आफूले बताएको जानकारी दिए। उनले भ्रमण र संवादका क्रममा इपिजी प्रतिवेदन ग्रहण गर्नका लागि जोड दिन, ऐतिहासिक तथ्यका आधारमा सिमानाको विषय समाधान गर्न, व्यापार घाटा कम गर्नका लागि नेपालमा उत्पादित सामग्री प्रवेशमा भारतलाई उदार हुनका लागि पहल गर्न, विभिन्न जलविद्युत् आयोजना अघि बढाउन पहल गर्नेलगायत विषयमा आफूले सुझाव दिएको उल्लेख गरे।
पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले प्रधानमन्त्री दाहालले दुई देशबीच सहयोगका बारेमा यसपालि सहमति बन्ने, समझदारी हुने र केही विषयमा सम्झौतामा हस्ताक्षर हुने जानकारी गराएको बताउँदै सिमानाको विषय समाधानका लागि अध्ययन गरेर दह्रो भएर कुरा राख्न आफूले सुझाव दिएको बताए।
प्रधानमन्त्री दाहालले यस पटक गरिने सम्झौताहरूमा राष्ट्रिय सहमति हुने बताए। प्रधानमन्त्री दाहालले जेठ १७ देखि २० गतेसम्मभारतको औपचारिक भ्रमण गर्ने छन्।
भ्रमणका क्रममा प्रधानमन्त्री दहालले भारतका राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। यसैगरी, उनले जेठ १८ गते भारतका प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नुहुने वार्तापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने छन्।











