Kathmandu Press
मन्त्री किरातीकाे स्पष्टाेक्ति : सेटिङमा चल्न नमान्दा गोठाटारको जग्गा प्रकरणमा मुछ्न खाेजियाे
मन्त्री किरातीकाे स्पष्टाेक्ति : सेटिङमा चल्न नमान्दा गोठाटारको जग्गा प्रकरणमा मुछ्न खाेजियाेकेही मान्छेहरु घुस अस्वीकार गरेकै कारण आफूविरुद्ध लागेको भन्दै मन्त्री किरातीले यस विषयमा भ्रमित नहुन र जुनसुकै अदालतमा गएर बोल्न तयार रहेको स्पष्ट पारे।

काठमाडाैं, जेठ १३ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले कागेश्वरी मनोहरा नगरपालिमा पर्ने साबिक गोठाटारमा रहेको जग्गा प्रकरणमा आफूलाई अनावश्यक आरोप लगाएको बताएका छन्।

गीतकार संघको १४औं स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री किरातीले आफू सेटिङमा चल्न नमान्दा र भ्रष्टाचार गर्न अस्वीकार गरेकै कारण जग्गा प्रकरणमा अनावश्यक रुपमा मुछ्न खोजिएको बताएका हुन्।

उनले सो क्षेत्रमा रहेको जग्गाका मध्ये ५०४ रोपनीको हालसाबिक गरि तारबार गर्ने र ३१ रोपनी खोज्न नापी र मालपोतको सदस्य रहने गरी सात सदस्य समिति गठन गर्ने निर्णय भएकोमा ३१ रोपनी जग्गालाई वैधता दियो भनेर प्रचार गर्न केही मान्छेहरु नियोजित रुपमा लागेको जिकिर गरे। केही मान्छेहरु घुस अस्वीकार गरेकै कारण आफूविरुद्ध लागेको भन्दै मन्त्री किरातीले यस विषयमा भ्रमित नहुन र जुनसुकै अदालतमा गएर बोल्न तयार रहेको स्पष्ट पारे।

उनले मन्त्री भएको दिनदेखि एक जना ठूलै मान्छेले वायुसेवा निगमको प्रबन्ध निर्देशक फेर्न ३ करोड रुपैयाँको प्रस्ताव गरेको र त्यसलाई अस्वीकार गरेकै कारण आफूमाथि नियोजित प्रहार भएको बताए। एक दिन फोन गर्ने व्यक्तिलाई भेट्दा टोकनमनी १ करोड, नियुक्त गरेका ७ दिनमा १ करोड र त्यसको एक महिनापछि १ करोड दिने प्रस्ताव गरेपछि आफूले अस्वीकार गरेको उनको भनाइ छ । उनले आफूले घुस अस्वीकार गरेकै दिनदेखि प्रहार सुरु भएको बताए।

उनले केही दिन कुर्सीमा बसेर देश र जनताका लागि काम गर्ने इच्छा भएको भन्दै आफू मुखले नभई मुटुले बोल्ने मान्छे भएको उल्लेख गरे। 

प्रकाशित मिति: १७:१६ बजे, आइतबार, जेठ १४, २०८०
प्रतिक्रिया दिनुहोस्