अरुको अगाडि लम्पसार भएर बाँच्नु नेपालीको अपमान हो : पूर्वराजा ज्ञानेन्द्र
आज (शनिबार) सुर्खेतको वीरेन्द्रनगरमा आयोजित नागरिक अभिनन्दनलाई सम्बोधन गर्दै उनले अहिलेको व्यवस्थामा कुरा धेरै र काम कम भएको भनी टिप्पणी गरे।
काठमाडौं, जेठ १३ : पूर्वराजा ज्ञानेन्द्र शाहले विश्वव्यापी प्रचलनमा रहेको आधुनिक प्रजातन्त्रको सही अर्थ जनतालाई केन्द्रमा राखेर सुशासन र विकास हुनुपर्ने भए पनि त्यसो हुन नसकेको बताएका छन्। आज (शनिबार) सुर्खेतको वीरेन्द्रनगरमा आयोजित नागरिक अभिनन्दनलाई सम्बोधन गर्दै उनले अहिलेको व्यवस्थामा कुरा धेरै र काम कम भएको भनी टिप्पणी गरे।
‘यो दायित्वमा निरन्तर संगठित र व्यवस्थित भएर लाग्नु नै प्रजातान्त्रिक पद्धति हो। लोकतन्त्र, जनतन्त्र, गणतन्त्र, समाजवाद, जनवाद, विज्ञानवाद, वैज्ञानिकवाद, भौतिकवाद आदि जे–जे शब्द भने पनि मूल कुरा देश, जनता, समाज, समुदाय र समूहको सर्वोत्तम सेवा र सम्मान नै हो। विश्वव्यापी प्रचलनमा रहेको आधुनिक प्रजातन्त्रको सही अर्थ जनतालाई केन्द्रमा राखेर सुशासन र विकास नै हो,’ उनले भने, ‘तर दुई दशक लामो समय हामीले गुमाएर अभ्यास गर्दै आएको विधि व्यवस्था, शासन प्रशासन, के त्यस प्रकारले सही र सार्थक भएको छ र? हामी जहाँजहाँ जान्छौं, जेजे सुन्छौं र जस्तोजस्तो देख्छौँ, त्यसबाट थाहा पाउँछौँ, कुरा धेरै काम थोरै भएको छ।’
जनताले खोजेको र सोचेको जस्तो नहुने शासन पद्धति केही समय बिकाउ भए पनि टिकाउ भने नबन्ने पूर्वराजा शाहले बताए। अरुको अगाडि लम्पसार भएर बाँच्नु नेपालीको अपमान भएको पनि उनले बताए। आफ्नै माटो मलिलो लाग्छ, भेषभूषा सुकिलो लाग्ने पनि उनको भनाइ थियो। ‘हामीलाई हाम्रो आफ्नै धर्म, कर्म, रीति थिति, संस्कृति र परम्परा प्रिय लाग्छ। आफ्नो पहिचान हाम्रो शान हो, आफ्नो मौलिकता र मौलिक सभ्यता हाम्रो स्वाभिमान हो, त्यसैले कसैको अगाडि लम्पसार परेर बाँच्नु हाम्रो अपमान हो,’ पूर्वराजा ज्ञानेन्द्रले भने, ‘हामी जहाँ–जहाँ पुग्छौँ, त्यहाँ–त्यहाँ नेपालीहरुको यस्तै–यस्तै आवाज सुन्छौँ।’
उनले आफ्नो गौरव र गरिमा फिर्ता ल्याउन सोच्नुपर्ने बेला आएको बताए। ‘अब सोचौं, के गर्दा देशको राम्रो हुन्छ। अब सोचौं, के नगर्दा देशलाई फाइदा हुन्छ। राष्ट्रवाद फस्टाउन राष्ट्रप्रेम चाहिन्छ। नेपालको पीरमर्का बुझ्न नेपाली मुटुले मात्र सक्छ,’ उनले भने, ‘हामी भन्दछौँ जुटौँ, हामी सबै एक भएर जुटौँ, त्यसैले हामी भन्दछौँ– हामी नफुटौँ र परस्परमा सहकार्य गरेर विकासका निम्ति डटौँ। त्यसैले फेरी पनि भन्छौँ– जुटौँ, खटौँ र डटौँ, स्वधर्मबाट हटेर होइन त्यसमै एकजुट भएर राष्ट्रका निम्ति एक साथ अघि बढौँ।’











