Kathmandu Press

आखिर पशुपतिनाथको जलहरी प्रकरण के थियो? 

महालेखाले करिब ११ किलो सुन गायब भएको प्रश्न प्रतिवेदनमा उठाएको छ। महालेखाले जलहरी बनाउँदाको ज्यालामा समेत कानुनविपरीत काम भएको ठहर गरेको छ।
आखिर पशुपतिनाथको जलहरी प्रकरण के थियो? 

काठमाडौं, जेठ १२ : सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले जेठ १० गतेको प्रतिनिधि सभा बैठकमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पशुपतिमा राखिएको सुनको जलहरीबारे प्रश्न उठाएका कारण एमाले आक्रान्त भएको छ।

दाहालले भ्रष्टाचार भएको भन्दै दिएको अभिव्यक्तिलाई लिएर प्रतिपक्षी नेकपा (एमाले) ले विरोध र नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले शुक्रबारको वैठक स्थगित गरे। एमाले सांसदहरूले वेल घेरेर नाराबाजी गरेका थिए।

सांसद दाहालले पशुपतिमा सुनको जलहरी राख्ने भनेर पित्तलको जलहरी राखेर भ्रष्टाचार गरिएको भनाइ राखेका थिए। महालेखा परीक्षकको कार्यालयले पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने क्रममा अनियमितता भएको आफ्नो प्रतिवेदनमा औंल्याएको छ। महालेखाले करिब ११ किलो सुन गायब भएको प्रश्न प्रतिवेदनमा उठाएको छ। महालेखाले जलहरी बनाउँदाको ज्यालामा समेत कानुनविपरीत काम भएको ठहर गरेको छ।

तत्कालिन प्रधानमन्त्री केपी ओलीको कार्यकालमा पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने कार्य सम्पन्न भएको थियो। महालेखाले जलहरीमा अनियमितता औंल्याएकै बेला यता भ्रष्टाचारमा छानविन हुनुपर्ने मागससहत अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्यो। उजुरीमा महालेखाको प्रतिवेदनलाई पनि आधार बनाइएको छ। उजुरी अहिले पनि अख्तियारमा विचाराधीन छ। जलहरी राख्ने क्रममा ११ किलो सुन गायव पारिएको दाबी उजुरीकर्ताको छ। 

प्रतिनिधिसभा विघटन गरेलगत्तै प्रधानमन्त्री ओलीले पशुपतिनाथको मन्दिर पुगेर दर्शन गर्नेक्रममा मन्दिरमा सुनको जलहरी राख्न ३० करोड रुपैयाँ दिने घोषणा गरे। २०७७ फागुन १२ गते पशुपति मन्दिरमा चाँदीको साटो सुनको जलहरी राख्ने कार्य गरियो। जलहरी निर्माणका लागि पशुपति क्षेत्र विकास कोषबाट १०८ किलो सुन खरिद गर्ने निर्णय भएको थियो। कोषले राष्ट्र बैंकबाट उक्त सुन खरिद गरिएको बताएको थियो। महालेखाको प्रतिवेदनमा भने ९६ किलो ८२२ ग्राम सुन मात्रै खपत भएको उल्लेख छ। 

२०७९ मा सार्वजनिक महालेखापरीक्षकको ५९ औं वार्षिक प्रतिवेदन उक्त तथ्य उल्लेख छ। ‘पशुपति शिवलिङ्गको गर्भगृहलाई पूर्ण रूपमा ढाक्ने गरी गरी राखिने सुनको जलहरी निर्माण कार्यका लागि नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन रू. ८० करोड ११  हजारमा खरिद गरेको र विभिन्न शुद्धताको प्रतिशत रहेको सुनमा अन्य धातु र रसायनको मिश्रण तामा २ किलो ८९० ग्राम, चाँदी १ किलो २४९ ग्राम, जिंक  १२.७५ ग्रामसमेत प्रयोग गरी  १०७ किलो  ९२४.७५ ग्राम सुन कायम भएको’ महालेखाकाले भनेको छ।

रिङ बनाउन प्रयोग भएको सुनको मूल्य रू.७ करोड ८६ लाख ४६ हजार रहेको उल्लेख गर्दै महालेखाले जलहरी बनाएर बाँकी रहेको सुनको सम्पूर्ण परिमाण रिङ्ग बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेस नगरिएकोे प्रतिवेदनमा उल्लेख गरेको छ। 
पशुपतिमा जलहरी चढाएपछि विचमा छानविनका लागि आदेशको माग राखेर सर्वोच्च अदालतमा पनि रिट निवेदन दायर भयो।

सर्वोच्चले मागेको विवरणमा कोषले १०३ किलो ७७३ ग्राम सुन किनेको भन्दै सर्वोच्च अदालतलाई विवरण पठायो। उक्त रिटमा जलहरी राखिएकै दिन सर्वोच्च अदालतले तत्कालका लागि सुनको जलहरी राख्ने कार्य रोक्न अन्तरिम आदेश दिएको थियो। तर जलहरी राखेर क्षमापुजा समेत संपन्न भइसकेका कारण कार्यान्वयन भएन।

तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिमा त्यतिबेला क्षमापूजा गर्दा १०८ किलोको जलहरी निर्माण गरी राखिएको भनिएको थियो। १२ फागुन २०७७ मा राष्ट्रपतिबाट क्षमापुजा संपन्न भएको थियो। सबैतिर प्रश्न उठेपछि पशुपति कोषका पदाधिकारीले १०८ किलो सुनमध्ये जलहरीबाट बचेको सुनको रिङ बनाएर पशुपतिनाथको मूर्तिलाई पेटी बनाएर बाँधिएको प्रतिक्रिया दिएका थिए। 

तर जलहरी बनाएर बाँकी रहेको सुनको सम्पूर्ण परिमाण रिङ बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेस नगरेको महालेखा परीक्षकको ५९ औं प्रतिवेदनले औंल्याएको छ। यस्तै दाताबाट प्राप्त नगद एवं जिन्सी आम्दानी खर्चको लेखांकन नभएकोले जलहरी निर्माणमा भएको खर्चको यथार्थ अवस्था यकिन हुन नसकेको समेत महालेखाको प्रतिवेदनमा उल्लेख छ। 

प्रकाशित मिति: १५:१० बजे, शुक्रबार, जेठ १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्