एमसीसीबारे अध्ययन गर्न नेकपाले बनायो कार्यदल
काठमाडौं, माघ १९ : सत्तासीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अमेरिकी सरकारको सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे अध्ययन ग....

काठमाडौं, माघ १९ : सत्तासीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अमेरिकी सरकारको सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे अध्ययन गर्न कार्यदल गठन गरेको छ।
नेकपाले एमसीसीबारे अध्ययन तथा सुझाव संकलन गर्न वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल बनाएको हो। कार्यदलमा स्थायी कमिटी सदस्य भीमबहादुर रावल र परराष्ट्रमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवाली सदस्य छन्।
केन्द्रीय कमिटीको बैठकमा नेताहरुले उठाएका प्रश्नको जवाफ दिँदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खनालको संयोजकत्वमा कार्यदल गठन गरिएको जानकारी दिएका हुन्।
कार्यदललाई अध्ययन गरेर सुझाव दिन १० दिनको समय दिइएको छ। केन्द्रीय कमिटी बैठकमा बोल्ने नेताहरुले एमसीसीका विषयमा प्रश्न उठाएका थिए। स्थायी कमिटी सदस्य रावलले एमसीसीका केही विषय संशोधन गरेरमात्रै पारित गर्नु पर्ने बैठकमा जोड दिएका थिए।
केन्द्रीय कमिटीको बैठकामा बोल्ने पूर्वएमालेका केही र पूर्वमाओवादी खेमाका अधिकांश नेताहरुले एमसीसी पास गर्न हतार गर्न नहुने भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका थिए।











