एमसिसी प्रसारणलाइन निर्माणको ठेक्कामा ६ भारतीय कम्पनी प्रतिस्पर्धामा
६ कम्पनीले दिएको आवेदनलाई अध्ययन गरेर प्रशारण लाइन ठेक्का बाँडफाँड हुने एमएसिए नेपालले जनाएको छ। एमसिएले विभिन्न ३ वटा खण्डमा विभाजन गरी बोलपत्र आव्हान गरेको थियो।काठमाडौं, जेठ ८ : मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसिए) नेपालले एमसिसी परियोजना अन्तर्गतको प्रसारणलाइन निर्माणका लागि ६ वटा कम्पनीले बोलपत्र पेश गरेका छन् ।
गत मंसिर १२ गते खुलाएको ४ सय केभिए प्रशारणको बोलपत्र आव्हानमा ६ भारतीय कम्पनीले आवेदन दिएका छन्।
एमसीए नेपालले आवेदन दिने ६ वटै कम्पनीको उपस्थतितमा बोलपत्र खोलेको हो। बोलपत्र दिनेमा मेघा इञ्जिनियरिङ एण्ड इन्फ्रास्ट्रक्चर लिमिटेड र पावर मेक प्रोजेक्ट्स लिमिटेडको संयुक्त, कल्पतरु पावर ट्रान्समिसन लिमिटेड, केईसी इण्टरनेशनल लिमिटेड, ट्रान्सरेल लाइटिङ लिमिटेड, टाटा प्रोजेक्ट्स लिमिटेड र लार्सन एण्ड टर्बो लिमिटेड छन्।
६ कम्पनीले दिएको आवेदनलाई अध्ययन गरेर प्रशारण लाइन ठेक्का बाँडफाँड हुने एमएसिए नेपालले जनाएको छ। एमसिएले विभिन्न ३ वटा खण्डमा विभाजन गरी बोलपत्र आव्हान गरेको थियो।
पहिलो लटका लागि ७ लाख अमेरिकी डलर, दोस्रो लटका लागि ५ लाख ५० हजार डलर र तेस्रो लटका लागि ६ लाख ७५ हजार डलर गरी कम्याक्टमा प्रसारण लाइनको कुल अनुमानित लागत २२ करोड ८२ लाख डलर अर्थात आजको विनियमदर अनुसार ३० अर्ब ११ करोड रुपैयाँ रहेको छ।
पहिलो चरणमा लप्सीफेदीदेखि रातमाटेहुँदै हेटौंटासम्म, दोस्रो चरणमा रातमाटेदेखि दमौलीसम्म र तेस्रो चरणमा दमौलीदेखि बुटबलसम्म गरी तीन खण्डमा विभाजन गरी बोलपत्र आव्हान भएको थियो।
आवेदन दिएका कम्पनीहरुको प्राविधिक तथा वित्तीय पाटो अध्ययन गरी आगामी १.५ देखि २ महिनाभित्रमा ठेक्का दिने तयारी गरिएको एमसिए नेपालले जनाएको छ। बोलपत्रमा निवेदनका दिएका मध्ये कति कम्पनी छनौट हुने भन्ने अहिलेसम्म यकिन भैसकेको छैन।
प्रसारणलाइन बन्ने १० वटा जिल्लाका ३० वटा गाउँपालिका तथा नगरपालिका (९२ वटा वडाहरु) भएर जाने प्रस्तावित प्रसारणलाइन बन्ने क्षेत्रको तार र टावर रहने जग्गा अधिग्रहण गर्नुपर्ने हुन्छ।
एमसिए नेपालका अनुसार अहिले जग्गा अधिग्रहणका लागि १० मध्ये ९ वटा जिल्लामा मात्रै प्रारम्भिक सूचनाहरु प्रकाशन भएका छन् ।