कोरोना भाइरसबाट चीनबाहिर पनि एकको मृत्यु, अहिलेसम्म तीन सयले ज्यान गुमाए
काठमाडौं, माघ १९ : कोरोना भाइरसबाट पहिलो पटक चीनबाहिर पनि एक जनाको मृत्यु भएको छ। यसबाट मृत्यु हुनेको संख्या तीन सयभन्दा बढी पुगेको विश्व स्वास्थ्य सं....

काठमाडौं, माघ १९ : कोरोना भाइरसबाट पहिलो पटक चीनबाहिर पनि एक जनाको मृत्यु भएको छ। यसबाट मृत्यु हुनेको संख्या तीन सयभन्दा बढी पुगेको विश्व स्वास्थ्य संघ (डब्लूएचओ)ले जनाएको छ।
डब्लूएचओका अनुसार, कोरोना भाइरसबाट फिलिपिन्समा एक जनाको मृत्यु भएको हो। ति पनि चिनियाँ नागरिक नै रहेको जनाएको छ। उनी ४४ वर्षीय चीनको वुहानकै नागरिक भएको जनाएको छ।
उनी केही दिन अघि फिलिपिन्सको भ्रमणमा गएका थिए। उनलाई चीनमै संक्रमण भएको डब्लूएचओले जनाएको छ।
आइतबारसम्म चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीनसयभन्दा बढी पुगेको छ। यसबाट चीनमा १४ हजार मानिस संक्रमित भएको डब्लूएचओले जनाएको छ।
चीन र अन्य देशमा पनि यसको संक्रमण बढ्दै गएको छ। अमेरिका, अस्ट्रेलिया, जापान, भारतलगायत देशले चीनमा रहेका आफ्ना नागरिकलाई स्वदेश फिर्ता लगिसकेका छन्।
अमेरिका र अस्ट्रेलियाले त चीनबाट आएका मान्छेलाई आफ्नो देशको भ्रमणमा पनि रोक लगाएको छ। जुनसुकै देशका नागरिक भएपनि भरखरै चीन भ्रमण गरेका भए उनीहरुले अमेरिका र अस्ट्रेलिया भ्रमणको अनुमति नपाउने भएका छन्।
यसैबीच नेपालले पनि वुहान र आसपासको क्षेत्रमा रहेका नेपाली नागरिकलाई स्वदेश फर्काउने तयारी सुरू गरेको छ। उनीहरूलाई चार्टर विमानबाट नेपाल ल्याउने तयारी भइरहेको जनाएको छ।











