कोरोना भइरसका बिरामीलाई छुट्टै उपचार केन्द्र : मन्त्री ढकाल
भरतपुर, माघ १८ : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको आशंका भएका बिरामीलाई अस्पताल बाहिर छुट्टै उपचार केन्द्र स्थापना गर्ने वि....

भरतपुर, माघ १८ : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको आशंका भएका बिरामीलाई अस्पताल बाहिर छुट्टै उपचार केन्द्र स्थापना गर्ने विषयमा सरकारले सोच बनाएको बताएका छन्।
शनिबार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले दुईदेखि १४ दिनसम्म यो भाइरसले अर्कालाई सङ्क्रमण गराउन सक्ने भएकाले व्यारेकको जस्तो गरी उपचार केन्द्र स्थापना गर्ने सोच बनाइएको बताए। अस्पतालमा राखेर उपचार गर्दा बिरामीको चाप बढ्न सक्ने भन्दै मन्त्री ढकालले भने, “१४-१५ दिनसम्म कयौँ बिरामीलाई हामीले राख्यौँ, तर त्यो रोगी रहेनछ भने निगरानीमा राख्न पनि मिल्छ, अस्पतालमा बिरामीको चाप बढेर लामो समय राख्न कठिन हुन्छ।”
उनले नयाँ व्यवस्थापन गरेर ब्यारेक तरिकामा राख्न सक्ने भन्दै अहिले विभिन्न ठाउँमा रहेका तालिम केन्द्रलाई व्यवस्थित गरेर त्यस्ता उपचार केन्द्र स्थापना गर्न पनि सकिने बताए। ती स्थानमा खाने बस्ने र उपचार उपलब्ध गराउने गरी व्यवस्थापन गराउन सकिने उनले जानकारी दिए। बिरामीको सङ्ख्याका आधारमा केन्द्र बनाइने उनले बताए। सरकारले अहिले १०० भन्दा बढी श्ययाको विशेष उपचार (आइसोलेसन) कक्ष तयारी अवस्थामा राखेको उनले जानकारी दिए।
पच्चीस श्ययाका दुई घुम्ती अस्पताल पनि रहेको मन्त्री ढकालको भनाइ थियो। रोगबाट बच्न सरकारले अपनाउनुपर्ने सावधानी सबै अपनाएको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय विमानस्थलमा सहयोगकक्ष राखेर जाँच गर्ने काम भइरहेको बताए। विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड, सुझाव र निर्देशनअनुसार अघि बढेको उनको भनाइ थियो। हालसम्म नेपालमा पाँच जना बिरामीलाई रोगको आशंका भएकाले परीक्षण गरिएकामा तीन जनामा नेगेटिभ देखिएको र बाँकी दुई जनालाई निगरानीमा राखिएको मन्त्री ढकालको भनाइ थियो।
चीनमा रहेका विद्यार्थीलाई फर्काउने विषयमा आवश्यक गृहकार्य अघि बढाइएको उनले जानकारी दिए। मन्त्री ढकालले सर्वसाधारण र उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी सबैलाई सावधानी अपनाउन आग्रह गरे। फरक प्रसंगमा उनले संघ मातहत रहेका अस्पतालमा विकास समिति गठनका लागि प्रक्रिया अघि बढेको बताए। स्तरोन्नति भएका अस्पतालमा प्राप्त स्रोत, साधन उपयोग गरी उपचारमा लाग्नुपर्नेमा उनले जोड दिए। रासस











