बालुवाटारको जग्गा प्रकरण : पूर्वमुख्यसचिवदेखि अख्तियार पूर्वप्रमुखसम्म कारवाहीको सिफारिसमा
काठमाडौं, माघ १७ : बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिका नाममा दर्ता भएको सार्वजनिक भएपछि छानविन गर्न गठित प्रहरीको केन्द्रीय अन....

काठमाडौं, माघ १७ : बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिका नाममा दर्ता भएको सार्वजनिक भएपछि छानविन गर्न गठित प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छानविन सकेर प्रतिवेदन बुझाएको छ।
सीआईबीको छानविन टोलीले गृह मन्त्रालयलाई बिहीबार नै छानविनको प्रतिवेदन बुझाएको हो। छानविन टोलीले ललिता निवासको ११४ रोपनी जग्गा हिनामिना प्रकरणमा हाल चीनका लागि नेपाली राजदूत रहेका लीलामणि पौडेलदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आययुक्त दीप बस्न्यातसम्मलाई कारवाहीका लागि सिफारिस गरेको छ।
जग्गा हिनामिना प्रकरणमा राजनीतिक दलका कुनै पनि नेतालाई भने कारवाहीको सिफारिस नगरिएको छानविन टोलीका एक सदस्यले जानकारी दिए। सीआईबीको टोलीले कीर्ते गरेर सरकारी सम्पत्तिमा हानी पुर्याएको निष्कर्षसहितको प्रतिवेदनसहित ४० बढीलाई कारवाहीका लागि सिफारिस गरेको उनले बताए। पूर्वसचिव शारदाप्रसाद त्रिताल नेतृत्वको छानविन समितिको प्रतिवेदनलाई आधार मानेर सीआईबीले थप छानविन गरेको थियो।
सीआईबीले पूर्वमुख्यसचिवसमेत रहेका चीनका लागि नेपाली राजदूत पौडेलसहित, अख्तियारका पूर्वप्रमुख दीप बस्न्यात पूर्वसचिव दिनेशहरि अधिकारी, छविराज पन्त, पूर्वसहसचिव गेहनाथ भण्डारी, कलाधर देउजा र सुधीर शाह, मुख्य योजनाकार भनिएका डा. शोभाकान्त ढकाल, रामकुमार सुवेदी, भाटभटेनी सुपर मोर्कटका मीनबहादुर गुरुङ लगायतलाई कारवाहीका लागि सिफारिस गरेको छ।
सरकारले गत २८ फागुन ०७५ मा ललिता निवासको सरकारी जग्गा हिनामिनाबारे छानविन गर्न सीआईबीलाई जिम्मा दिएको थियो। सीआईबीले झण्डै ११ महिनाको अनुसन्धानपछि प्रतिवेदन सरकारलाई बुझाएको हो।











