वुहानमा रहेका नेपालीको उद्दार गर्न सरकारलाई देउवाको आग्रह
काठमाडौं, माघ १७ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चीनको वुहान शहरमा रहेका नेपालीको उद्दार गर्न सरकारलाई आग्रह गरेका छन्।
शु....

काठमाडौं, माघ १७ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चीनको वुहान शहरमा रहेका नेपालीको उद्दार गर्न सरकारलाई आग्रह गरेका छन्।
शुक्रबार विज्ञप्ति जारी गरी सभापति देउवाले कोरोना भाइरसको संक्रमणबाट जोगाउँदै वुहानमा रहेका नेपालीलाई यथासिघ्र नेपाल ल्याउने प्रबन्ध मिलाउन सरकारलाई आग्रह गरेका हुन्।
‘कयौं देशले चीनको वुहान शहरबाट आफ्ना नागरिकलाई स्वदेश फर्काइसकेको विवरण आएका छन्। तर त्यहाँ रहेका करिब एक सय नेपाली विद्यार्थीसँगै अन्य नेपालीलाई स्वदेश फर्काउन सरकारले कुनै गम्भीरता नदेखाउनु दुःखद र आपत्तिजनक छ,’ देउवाले भनेका छन्।
देउवाले कोरोना भाइरसको संक्रमण भित्रिन नदिन नेपाल प्रवेशका सबै अन्तर्राष्ट्रिय नाकामा विशेष हेल्थ डेस्क प्रभावकारी ढंगले सञ्चालन गर्न पनि अपिल गरेका छन्।
वुहानबाट नेपालीहरुलाई उद्दार गरेर ल्याए पश्चात स्वास्थ्य परीक्षणको प्रतिवेदन आउने निश्चित अवधिभर अलग्गै राख्ने शिविरको प्रवन्ध गर्न सरकारले तत्काल काम सुरु गर्नु पर्ने पनि देउवाले सुझाव दिएका छन्।
‘संक्रमण परीक्षणका लागि राजधानीमा अलग्गै केन्द्र तत्काल स्थापना गर्नुपर्ने अनिवार्य आवश्यकता छ। यसलाई गम्भीरतापूर्वक लिएर गम्भीरताका साथ कार्य गर्न सरकारलाई सचेत गराउन चाहन्छु,’ उनले भनेका छन्।
कोरोना भाइरसको प्राणघातक संक्रमणप्रति संयमपूर्वक सतर्कता अपनाउन स्वदेश र विदेशमा रहेका सबै नेपालीलाई विशेष अपिल पनि गरेका छन्।
कोरोना भाइरसबाट चीनमा शुक्रबारसम्म २१३ जनाले ज्यान गुमाइसकेका छन् भने हजारौं संक्रमित भएका छन्। सभापति देउवाले कोरोनाका कारण जीवन गुमाएका सबै चिनियाँ नागरिकको परिवार र चीन सरकारप्रति समवेदना व्यक्त गरेका छन्।
उनले कोरोना भाइरस नियन्त्रणका लागि चीन सरकारले गरिरहेको प्रभावकारी प्रयासको प्रशंसा पनि गरेका छन्।
हेर्नुस् विज्ञप्ति :












