Kathmandu Press

६३ वर्षमा ५५० आरोहीले चढे धौलागिरि हिमाल

सन् १९६० मई १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गरलगायत स्विस धौलागिरि आरोहण टोलीका पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्जे र नवाङ दोर्जे धौलागिरि हिमालको चुचुरोमा पुगेका थिए। 
६३ वर्षमा ५५० आरोहीले चढे धौलागिरि हिमाल

गलेश्वर, जेठ २ : मे १३ मा धौलागिरि हिमाल आरोहण भएको ६३ वर्ष पूरा भएको छ। तिब्बतको भूमि प्रयोग नगरी फन्को मार्न सकिने नेपालको एक मात्र हिमाल धैलागिरिमा हालसम्म ५५० जनाले आरोही चुचुरोमा पुग्न सकेका छन्। 

कुल आठ हजार १६७ मिटर उचाइको म्याग्दीको धौलागिरि गाउँपालिका(४ मुदीस्थित विश्वको सातौँ अग्लो धौलागिरि आरोहण गर्न आरोहीहरु बर्सेनि आउने गरेका छन्।

सन् १९६० मई १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गरलगायत स्विस धौलागिरि आरोहण टोलीका पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्जे र नवाङ दोर्जे धौलागिरि हिमालको चुचुरोमा पुगेका थिए। 

पर्यटन विभागका अनुसार सन् १९६० देखि सन् २०२० सम्म विदेशी र स्वदेशी गरी पाँच सय ५० जनाले धौलागिरि हिमालको सफल आरोहण गरेका छन्। धौलागिरि हिमाल आरोहणका लागि जारी वसन्त ऋतुमा २५ पुरुष र १२ महिला गरी ३७ आरोहीले अनुमति लिएका छन्। 

पछिल्लो समय पदमार्गको यात्रा लामो, जोखिमपूर्ण र सञ्चार पहुँचभन्दा टाढा हुँदा विदेशी र नेपाली आरोहीहरु काठमाडौँबाट विभिन्न सडकमार्ग हुँदै ताकम र त्यहाँबाट हेलिकोप्टरमार्फत आधार शिविर पुग्ने गरेका छन्। साथै आधार शिविरसम्मका लागि पुग्नका लागि गाउँपालिका, प्रदेश र सङ्घीय सरकारले समेत पदमार्ग निर्माण गर्दै आएका छन् भने सञ्चारको पहुँचसमेत बढाउँदै लगिएको छ। 

अक्कर पहाड, जङ्गल, खोलानाला हुँदै पदयात्रा गर्नुपर्ने भएकाले धौलागिरि पदमार्गको यात्रा साहसिक मानिन्छ। विसं २०६८ यता आधार शिविरमा ओरोही पुग्ने क्रम बढेको छ। 

यस याममा पनि आरोही, पथपर्दशक, भरिया र आरोहण दलका सहयोगी आधार शिविरमा पुगेका छन्। 

धौलागिरि हिमाल आरोहण गर्न सन् १९९८ मा पहिलो प्रयास गरेका कार्लोसले दुई दशकयता १३औँ पटक प्रयास गर्दा पनि धौलागिरिको शिखरमा पाइला राख्न सकेका छैनन्।

सन् १९५० मा मोरिस हर्जोगको धौलागिरि चढ्ने प्रयास असफल भएपछि उनी अन्नपूर्णतिर लागेका थिए। त्यसको १० वर्षपछि सन् १९६० मा आएर मात्र स्वीस तथा अष्ट्रियन टिमका कुर्त डाइमवर्गर, पिटर डाइनर, अर्नष्ट फोरेर, अल्विन शेल्वर्ट, नीमा दोर्जे र ङावाङ दोर्जेले धौलागिरिको सफल आरोहण गरे।

त्यसपछि २००९ सम्मको ४९ वर्षमा चार सय १३ जना आरोही मात्र धौलागिरिको शिखरमा पुग्न सफल भएका थिए। त्यस यताको १४ वर्षमा एक सय ३७ जनाले गरी सन् २०२० सम्ममा पाँच सय ५० जनाले धौलागिरि हिमालको सफल आरोहण गरेका छन्। 

नेपालको पर्यटन तथा वनस्पति विज्ञ डा तीर्थबहादुर श्रेष्ठका अनुसार धौलागिरिलाई नेपालकै भूमिबाट परिक्रमा गर्न सकिन्छ। हिमालयको भूपरिधि पश्चिममा सिन्धुनदीको घाँटीदेखि पूर्वमा ब्रह्मपुत्रको घाँटीसम्म फैलिएको छ। जसको लम्बाइ अन्दाजी २५०० किमि हुन्छ। 

कालीगण्डकी पूर्वका हिमाललाई पूर्वी हिमाल र पश्चिमकालाई पश्चिम हिमाल भन्ने चलन छ। धौलागिरि हिमशिखर ८३ डिग्री पूर्वी देशान्तरमा पर्दछ। यही रेखाको सहायताले वनस्पतिविद् पूर्वीय र पश्चिमी वानस्पतिक प्रान्त छुट्याउँछन्। 

धौलागिरिले उत्तरतिरको डोल्पा, मुस्ताङ मरुभूमि क्षेत्र र दक्षिणकाखको अतिवृष्टि हुने म्याग्दी९पर्वत र कास्की क्षेत्रलाई पनि जोड्दछ। यस अर्थमा धौलागिरि र यसको फेदमा बग्ने कालीगण्डकी क्षेत्रले जैविक विविधता र वातावरणका लागि एक चौराहको काम गरेको छ। 

धौलागिरि क्षेत्रमा देवदार, लेकपाङ्ग्रो, साइप्रस धूपी, गोब्रे सल्ला (पिन्ड्रो), झुलेसल्ला, वन दारिम, जैतुन तथा चन्द्रा (पियोनिया) आदि वनस्पति छन्। चराचुरुङ्गी र अरू जीवप्राणीका लागि पनि धौलागिरि-अन्नपूर्ण र कालीगण्डकी यस्तै सङ्गम क्षेत्रको रूपमा प्रस्ट देख्न सकिने वनस्पतिविद् डा श्रेष्ठको भनाइ छ। 

धौलागिरि, अन्नपूर्ण र कालीगण्डकीका अरू थुप्रै विशेष मौलिकता पनि छन्। एकातिर धौलागिरि र अन्नपूर्ण आठ हजार मिटर भन्दा अग्ला छन् भने कालीगण्डकी लगभग तीन हजार मिटरको उचाइमा बग्दछ। यस हिसाबले पाँच हजार मिटर गहिरो उपत्यकाको चौडाइ भने ३५ किमि मात्र फराकिलो छ। (रासस)

प्रकाशित मिति: १६:१४ बजे, मंगलबार, जेठ २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्