Kathmandu Press

समूहगत छलफलपछि नेकपा केन्द्रीय सदस्यहरू सभागृहमा

काठमाडौं, माघ १७ : समूहगत छलफलपछि नेकपा केन्द्रीय समितिको बैठक सभागृहमा सुरू भएको छ। बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी छैनन्।....

समूहगत छलफलपछि नेकपा केन्द्रीय सदस्यहरू सभागृहमा

काठमाडौं, माघ १७ : समूहगत छलफलपछि नेकपा केन्द्रीय समितिको बैठक सभागृहमा सुरू भएको छ। बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी छैनन्।

माघ १५ गते सुरू भएको नेकपा केन्द्रीय समिति बैठकअन्तर्गत बिहीबार समूहगत छलफल भएको थियो। केन्द्रीय समिति सदस्यका १५ समूहले वेग्लावेग्लै छलफल गरेका थिए।
समूहले गरेको छलफलको निष्कर्ष अहिले सभागृहमा सुरू भएको बैठकमा प्रस्तुत गर्न लागिएको हो। समूहका प्रमुखले छलफलको निष्कर्ष प्रस्तुत गर्ने जनाएको छ।

केन्द्रीय सदस्यका १५ समूहमध्ये आठ समूह सभागृह, चार समूह पार्टी मुख्यालय धुम्बराही र तीन समूह जनवर्गीय सङ्गठन कार्यालय पेरिसडाँडामा छलफलमा जुटेका थिए। अहिले सबै समूह सभागृहमा एकीकृत भएका हुन्।

समूहका प्रमुखको प्रस्तुति र सदस्यहरूले उठाएका गुनासो सुनेपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने कार्यक्रम रहेको छ।

बैठकमा नेकपा अध्यक्ष ओली उपस्थित भएका छैनन्। अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, नेताहरू वामदेव गौतम, रामबहादुर थापा ‘बादल’, इश्वर पोखरेल, विष्णु पौडेल र नारायणकाजी श्रेष्ठ उपस्थित रहेका छन्।

नेकपा केन्द्रीय समितिको बैठक माघ १९ गतेसम्म चल्नेछ।

 

प्रकाशित मिति: १४:३९ बजे, शुक्रबार, माघ १७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्