चिसो छल्न रुकुमबाट दाङ ल्याएका दुई सय भेडा मरे
घोराही, माघ १७ : चिसो छल्न पूर्वि रुकुमबाट दाङ ल्याइएका दुई सय भेडा मरेका छन्।
हिउँदमा पूर्वी रुकुमको उत्तरी भेगमा प्रायः हिउँपर्ने भएकाले त....

घोराही, माघ १७ : चिसो छल्न पूर्वि रुकुमबाट दाङ ल्याइएका दुई सय भेडा मरेका छन्।
हिउँदमा पूर्वी रुकुमको उत्तरी भेगमा प्रायः हिउँपर्ने भएकाले त्यहाँका पशुपालक कृषक चिसो छल्न पशु चौपायालाई बेंसीतिर झार्छन्। मङ्सिरको सुरुआतसँगै उनीहरुले आफूले पालेका चौपाया भेडा बाख्रालाई चिसोबाट जोगाउन र चराउन दक्षिणी भेगका ल्याउने गर्छन्।
पूर्वी रुकुमको भूमे गाउँपालिका–१ लुकुमका चार जना भेडापालक किसान पनि यो वर्ष भेडालाई चिसोबाट जोगाउन मङ्सिर दोस्रो साता दाङतिर ल्याएका थिए। तर, चिसो छल्न दाङ ल्याइएका दुई सय भेडा अज्ञात रोगले मरेका छन्।
मङ्सिर १० गते रुकुमबाट हिँडेका उनीहरु पुस २९ गतेमात्रै घोराही उपमहानगरपालिका–१९ को पाँचपोखरीमा पुगेको भेडा किसान प्रेमबहादुर पुनले बताए। करिब दुई महिनाअघि प्रेमबहादुरसहित भेडाको बथान लिएर हिँडेका धर्म बुढामगर, धर्मकुमारी पुन र रामकृष्ण पुन रोल्पाको जलजला, भनभने, थामा हुँदै घोराहीको पाँचपोखरीमा पुगेका थिए।
उनीहरुले घरबाट आउँदा करिब चार सयभन्दा बढी भेडा बाख्रा साथमा लिएर हिँडेका थिए। भेडा किसान प्रेमबहादुर पुनका अनुसार उनका १२०, धर्म बुढाका १२०, धर्मकुमारी पुनका ११५ र रामकृष्ण पुनले ११५ वटा भेडा लिएर आएका थिए।
चार सयभन्दा बढी भेडाबाख्रा चराउन हिँडेका ती किसानको भेडाको अवस्था भने अहिले ठीक छैन। केही दिनयता अचानक भेडा मर्न थालेको उनीहरूले बताएका छन्।
बितेको दुई हप्तामा दुई सयभन्दा बढी भेडा मरेका उनले बताए। दैनिक सरदर १०-१२ वटासम्म भेडा मर्ने गरेको प्रेम बुढाले बताए।
उनका अनुसार भेडामा मुख पाक्ने, पखाला लाग्ने र झुङ्ने, घाँस नखाने र मर्ने समस्या देखिएको छ। तर, साथमा रहेका केही बाख्रामा भने यो समस्या नदेखिएको उनले बताए।
‘हाम्रो रोजीरोटी यही हो, बर्बाद भयौँ। यहाँ उपचार गराउने ठाउँ कहाँ छ भन्ने पनि थाहा छैन, सहयोग गरिदिन अनुरोध छ,’ प्रेमले भने। धर्मकुमारीका अनुसार रोल्पाको माडी भन्ने ठाउँमा आउँदा भेडामा समस्या देखिएको थियो।
सुरुमा चिसोका कारण भेडा मरेको होला भनेर सामान्यरुपमा लिएको उनले बताइन््। तर, अहिले भकाभक दिनमा १०–१२ वटासम्म मर्न थालेपछि भेडाको बथान नै सकिने होकी भन्ने पिरले सताएको उनको भनाइ छ।
यसैबीच पाँचपोखरीमा ल्याइएका भेडा मर्दा किसान समस्यामा परेकाबारे घोराही उपमहानगरपालिका–१९ का वडासदस्य जंग रोकाले आफूलाई जानकारी भए पनि के कारणले मरेका हुन् भन्नेबारे एकीन गर्न नसकिएको बताए। दाङको विकट, सञ्चारविहीन र जङ्गल क्षेत्र भएका कारण यसबारेमा यहाँका स्थानीय प्रशासनलाई जानकारी हुन सकेको छैन। (रासस)











