Kathmandu Press

कोरोना भाइरसका कारण विश्वव्यापी आपतकाल घोषणा

काठमाडौं, माघ १७ : कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि विश्व स्वास्थ्य संघ (डब्लूएचओ)ले स्वास्थ्य क्षेत्रको लागि विश्वव्यापी आपतकाल घोषणा गरेको छ।

....
कोरोना भाइरसका कारण विश्वव्यापी आपतकाल घोषणा
एजेन्सी

काठमाडौं, माघ १७ : कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि विश्व स्वास्थ्य संघ (डब्लूएचओ)ले स्वास्थ्य क्षेत्रको लागि विश्वव्यापी आपतकाल घोषणा गरेको छ।

चीनको वुहान शहरबाट सुरू भएको कोरोना भाइरसको संक्रमण नेपालसहित २२ देशमा फैलिएको छ। जसले गर्दा डब्लूएचओले विश्वव्यापी आपतलकाल घोषणा गरेको हो।

आपतकाल घोषणा गर्नृु कारण दर्शाउँदै डब्लूएओका प्रमुख टेड्रोस एड्हानोमले भनेका छन्, ‘यो घोषणाको मुख्य कारण चीनमा के भइरहेको छ भन्ने होइन, अन्य देशमा के भइरहेको छ भन्ने हो।’ यसको संक्रमणले विश्वव्यापी संकट नित्याएपछि स्वास्थ्य क्षेत्रका लागि आपतकाल घोषणा गरिएको डब्लूएओले जनाएको छ।

यस अघि पनि डब्लूएचओले विभिन्न समयमा आपतकाल घोषणा गरेको थियो। अहिलेसम्म डब्लूएचओले पाँच पटक स्वास्थ्य क्षेत्रका लागि आपतकाल घोषणा गरिसकेको छ।

काेराेना भाइरस संक्रमण भएका देशहरु।

यस अघि सन् २००९ मा स्वाइन फ्लुका लागि आपतकाल घोषणा गरिएको थियो। जसबाट संसारभर दुई लाख मान्छेको मृत्यु भएको थियो।

त्यस्तै, सन् २०१४ मा पोलियो, सन् २०१६ मा जिका भाइरस र सन् २०१६ र सन् २०१९ मा इबोलाका लागि आपतकाल घोषणा गरिएको थियो। इबोलाका कारण दक्षिण अफ्रिकामा ११ हजार जनाको मृत्यु भएको थियो।

झन्डै तीन साता अघि चीनको वुहान शहरबाट सुरू भएको कोरोना भाइरसको संक्रमण संसारका २२ देशमा फैलिएको छ। शुक्रबार बिहानसम्म चीनमा दुई सय १३ जनाको ज्यान गएको जनाएको छ।

त्यस्तै, यसको संक्रमण नौ हजार ६ सय ९२ जनामा देखिएको छ। यो क्रम बढिरहेको चीनले जनाएको छ।

कोरोना भाइरसको संक्रमण चीनसँग जोडिएका नेपाल र भारतसँगै अमेरिका, बेलायत, इटालीसहित २२ देशमा फैलिएको छ। संसारभर नौ हजार सात सय जनामा यसको संक्रमण देखिएको डब्लूएचओले जनाएको छ।

चीनमा यसको संक्रमण देखिएपछि यातायात तथा आवतजावतमा समेत रोक लगाइएको छ। चीनका करिब ६ करोड वासिन्दाले एक सातादेखि आंशिक तथा पूर्णरुपमा हिडडुल गर्न पाएका छैनन्।

यसको प्रकोप बढ्दै गएपछि विभिन्न देशले चीनमा रहेका आफ्ना नागरिकलाई फिर्ता लग्न थालेका छन्। शुक्रबारसम्म बेलायत, अमेरिका, जापानलगायतका देशले आफ्ना नागरिकलाई फिर्ता लगिसकेको छ।

नेपालले भने अहिलेसम्म वास्ता गरेको छैन। चीनको वुहानमा रहेको नेपाली दुई सातादेखि उद्धारको पर्खाइमा छन्।

 

प्रकाशित मिति: १०:२२ बजे, शुक्रबार, माघ १७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्