अख्तियार सचिवलाई १५ दिनभित्र उपस्थित हुन सर्वोच्चको निर्देशन
काठमाडौं, माघ १६ : सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव महेश्वर न्यौपानेलाई १५ दिनभित्र मुद्दाको फाइल लिएर उपस्थित हुन निर्दे....

काठमाडौं, माघ १६ : सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव महेश्वर न्यौपानेलाई १५ दिनभित्र मुद्दाको फाइल लिएर उपस्थित हुन निर्देशन दिएको छ।
गैरकानूनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले दायर गरेको भ्रष्टाचारसम्बन्धी मुद्दामा सर्वोच्चले पटक–पटक निर्देशन दिएपनि अटेर गरेपछि अख्तियार सचिव न्यौपानेलाई नै फाइल लिएर उपस्थित हुन निर्देशन दिएको हो।
सर्वोच्चका न्यायाधीशत्रय मीरा खड्का, इश्वरप्रसाद खतिवडा र सुष्मलता माथेमाको पूर्ण इजलासले यस्तो आदेश दिएको हो। नेपाल आयल निगमका तत्कालीन महाप्रवन्धक युवराज शर्माले पदीय दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो।
सर्वोच्चको आदेशमा भनिएको छ,‘प्राविधिक कारण देखाएर अदालतबाट माग गरिएका मुद्दासँग सम्वन्धित अभिलेख पेश गर्न आलटाल गर्ने र जिम्मेवारीबाट पन्छिन खोज्ने प्रवृत्तिलाई उचित ठान्न सकिँदैन।’
शर्माको भ्रष्टाचारको मुद्दाकै कारण अहिले सर्वोच्चमा भएका गैरकानूनी सम्पत्ति अजर्नसँग सम्बन्धित मुद्दाको फैसला रोकिएको छ। यसअघि पनि कांग्रेस नेता गोविन्दराज जोशीको मुद्दामा पनि सर्वोच्चले सक्कल फाइल पाँच पटक माग्दा पनि उपलब्ध नगराएपछि अख्तियारका सचिवलाई नै सर्वोच्च बोलाएको थियो।
गत १८ पुसमा सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराले नै शर्माको मुद्दामा केही सिद्दान्त प्रतिपादन गर्नुपर्ने भएकाले गैरकानूनी सम्पत्ति आर्जनसँग सम्बन्धित मुद्दाको फैसला रोकिएको बताएका थिए।











