राजपा सरकारमा सहभागी हुने सम्भावना छैन : यादव
काठमाडौं, माघ १६ : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक तथा सांसद महेन्द्र राय यादवले सरकारमा सहभागी हुनेबारे पार्टीभित्र....

काठमाडौं, माघ १६ : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक तथा सांसद महेन्द्र राय यादवले सरकारमा सहभागी हुनेबारे पार्टीभित्र कुनै छलफल नभएको बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले भने,‘सरकारमा सहभागी हुनेबारे हाम्रो पार्टीमा कुनै छलफल भएको छैन। त्यसैले सरकारमा जाने सम्भावना छैन। सरकारमा जानेबारे हामीसँग नैतिक धरातल छैन।’
उनले संविधान दिवसलाई आफूहरुले कालो दिवसको रुपमा मनाउने भएकाले संविधान संशोधन नभएसम्म सरकारमा सहभागी हुने कुरा सोच्न पनि नसकिने बताए।
यादवले सरकारमा सहभागी हुने कुरा आफूहरुको प्राथमिकता नभएको जिकिर गरे। उनले भने,‘राष्ट्रिय जनता पार्टी नेपाल सरकारमा जान इच्छुक छैन। तर, हाम्रा माग र मुद्दा सम्बोधन गरियो र एउटा वातावरण सहज बन्यो भने र हाम्रा सबै काम सम्पन्न भए भने हामी त्यतिबेला विचार गर्न सक्छौं। हाम्रा विगतका मुद्दा र मागलाई यो सरकारले सम्बोधन गरोस्। तर, अहिले सरकारमा जाने स्थिति छैन।’
उनले आफ्नो पार्टीले प्रतिनिधिसभाको लागि उपसभामुख नमागेको स्पष्ट पारे। उनले भने,‘हामीले उपसभामुख हाम्रो पार्टीलाई देउ भनेर मागेका छैनौं। यो सरकारले हामीलाई उपसभामुख किन दिन चाहेको छ? हामीले बुझ्न सकेका छैनौं।’











