माथेमाको टोलमा पूर्ण कदको शालिकसहितको पार्क निर्माण
काठमाडौं, माघ १६ : राणा शासनविरुद्ध नेपाली जनताको स्वतन्त्रता र अधिकार प्राप्तिको संघर्षका क्रममा सहादत प्राप्त गरेका धर्मभक्त माथेमाको सम्झनामा ....

काठमाडौं, माघ १६ : राणा शासनविरुद्ध नेपाली जनताको स्वतन्त्रता र अधिकार प्राप्तिको संघर्षका क्रममा सहादत प्राप्त गरेका धर्मभक्त माथेमाको सम्झनामा ‘सहिद धर्मभक्त माथेमा पार्क’ निर्माण भएको छ।
काठमाडौं महानगरपालिका वडा नम्बर-२३ स्थित ओमबहालमा निर्माण भएको सो पार्कको बिहीबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अनावरण गरेका हुन्। माथेमाको पुख्याैली घर रहेको ओमबहालमा उनको सम्झनामा पूर्ण कदको शालिकसहित करीब ६५ लाखको लगानीमा पार्क निर्माण भएको हो।
शालिक अनावरणपछि सम्वोधन गर्दै मेयर शाक्यले शालिकबाटै शहीदहरुलाई चिन्न सकियो भनेर चारै सहिद (धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, दशरथ चन्द र गंगालाल श्रेष्ठ)को शालिक निर्माण गरेको बताए।
‘राम्रो काम गर्ने मानिस समाजमा सधैँ जिवित रहन्छन्, मेयर शाक्यले भने, ‘काठमाडौँ महानगरपालिकाले पनि चारै जना सहिदको सम्झनामा उहाँहरुलाई मृत्युदण्ड दिएका स्थानमा चार वटा शालिक बनाएको छ। यहाँ धर्मभक्तको टोलमा पनि महानगरपालिकाले उहाँको सम्झनामा पूर्णकदको शालिकसहित पार्क निर्माण गरेको हो।’
शाक्यले सहिद धर्मभक्तकै सम्झनामा बुढानिलकण्ठ नगरपालिकाको बुढानिलकण्ठमा सहिद धर्मभक्त मानव सेवा आश्रम भवन’ निर्माण गर्ने तयारीमा महानगरपालिका रहेको बताए। त्यसैगरी सहिद गंगालालको सम्झनामा गंगालाल हृदय केन्द्रमा अक्सिजन प्लाण्ट राख्न महानगरपालिकाले सम्झौता गरेको समेत बताए।
वडाध्यक्ष मचाराजा महर्जनले पार्कसहितको शालिक निर्माण गर्न करीब ६५ लाख खर्च भएको बताए। उनले पार्कको मुनि ३० हजार लिटरको पानी ट्याङ्की राखेको भन्दै विपद्का बेला त्यहाँको पानी विना दमकल एक किलोमिटर टाढाँसम्म ५-६ तलासम्म मिल्काउन सकिने मिसिन समेत जडान गरेको बताए।
माथेमालाई माघ १३ गते सिफल उकालो बकाइनाका रुपमा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो।











