Kathmandu Press

शल्यक्रिया गर्नुपर्ने अर्थतन्त्रलाई झारफुकले ठिक पार्न सकिन्न : डा. स्वर्णिम वाग्ले

'यो यथास्थितिवादी निबन्धले सम्पूर्ण नीति, योजना, बजेट निर्माण र शासकीय प्रक्रिया नै अविश्वसनीय भइरहँदा, सच्चिने, सुधार्ने, सपार्ने गुञ्जायस हामीले भेटाएका छैनौँ । त्यो सेन्स अफ अर्जेन्सी हामीले भेटाइरहेका छैनौं,' वाग्लेले भने।
शल्यक्रिया गर्नुपर्ने अर्थतन्त्रलाई झारफुकले ठिक पार्न सकिन्न : डा. स्वर्णिम वाग्ले

काठमाडौं, वैशाख २५ : अर्थविद् तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. स्वर्णिम वाग्लेले बजेटको सिद्धान्त तथा प्राथमिकतामा दिगो विकास र जलवायु परिवर्तनका कुरा आउनु सकारात्मक भए पनि अर्थतन्त्रमा त्यसलाई कसरी अगाडि लैजाने भन्ने कुनै रोडम्याप नदेखिएको बताएका छन्।

सोमबारको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त तथा प्राथमिकतामाथि भइरहेको छलफलमा आफ्नो धारणा राख्दै उनले वित्त नीतिमा लचिलो बन्ने स्पेस नभएको भन्ने अर्थमन्त्रीको भनाइ गलत भएको बताए।

‘अर्थमन्त्रीले वित्त नीतिमा लचिलो र रचनात्मक हुने अवस्था छैन, मौद्रिक उपकरणबाट मात्रै अगाडि जान्छौं भन्नुभयो। यो गलत हो,’ उनले भने, ‘वित्त नीतिमा खोज्न सक्ने हो र सिर्जनशील हुने हो भने पर्याप्त ठाउँ छ । यसको लागि जलवायु परिवर्तन र दीगो विकासको मुद्दाबाट पनि अगाडि बढ्न सक्नुहुन्छ ।’

Hardik ivf

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले धेरै विषय समटेको भए पनि त्यसले अपेक्षित आशा जगाउन नसकेको उनको भनाइ छ। 'धेरै विषय परेका छन्। केही छुटाउन नहुने कुरा छुटेका छैनन्। भन्दिनुपर्ने, सुनाइदिनुपर्ने कुरा पनि ल्याइएको नै छ,' वाग्लेले भने, 'आर्थिक वृद्धि, सुशासन, जलवायु परिवर्तनको असर न्यूनीकरण, सङ्घीयताको सवलीकरण, सामाजिक न्याय, निजी क्षेत्रको मनोबल बढाउनेजस्ता कुरा अर्थमन्त्रीले ल्याउनुभएको छ । तर पनि माहोल खल्लो छ । हामी उत्साहहीन कर्मकाण्डमा सामेल भइरहेको जस्तो अनुभूति भइरहेको छ।'

बजेटको सिद्धान्त र प्राथमिकतामा अर्थतन्त्रलाई तत्काल सुधार्न हतार (सेन्स अफ अर्जेन्सी) नदेखिएको पनि उनले उल्लेख गरे। 'यो यथास्थितिवादी निबन्धले सम्पूर्ण नीति, योजना, बजेट निर्माण र शासकीय प्रक्रिया नै अविश्वसनीय भइरहँदा, सच्चिने, सुधार्ने, सपार्ने गुञ्जायस हामीले भेटाएका छैनौँ । त्यो सेन्स अफ अर्जेन्सी हामीले भेटाइरहेका छैनौं,' वाग्लेले भने।

उनले अब पहिलो पुस्ताको विकासको चुनौतीमा रुमलिनेभन्दा पनि दोस्रो पुस्ताको विकास चुनौतीसँग अगाडि बढ्नुपर्नेमा जोड दिए। ‘हिजोको धुले सडक, विद्यालय भवन र खानेपानी अहिलेको प्राथमिकता होइन। अब कसरी गुणस्तरीय शिक्षा र पूर्वाधार दिने भन्ने प्राथमिकता हुनपर्छ । जुन कुरा नीति तथा कार्यक्रम र बजेटमा कन्भिन्स हुनेगरी प्रतिविम्बित हुनुपर्छ,’ उनले भने, ‘बजेटको सिद्धान्त तथा प्राथमिकतामा त्यो छैन, सुधार गर्नुहोला।’

उनले निजी क्षेत्रको मनबोल बढाउने कुरा आउनु सकारात्मक भएको उल्लेख गर्दै उनले आफ्नै पार्टीको घोषणापत्र कार्यान्वयन गर्न अर्थमन्त्री महतलाई सुझाए। 'सत्तारुढ दल नेपाली कांग्रेसको चुनावी घोषणापत्रमा परेको ‘ओम्निबस’ आर्थिक सुधारका विषयलाई गम्भीर रूपमा लिनुपर्छ। छोटो समयमा ठूलठूला काम गर्नु छ। लगानीमैत्री वातावरण बनाउन चार दर्जनभन्दा बढी कानुन संशोधन गर्नुपर्ने भनिएको छ। त्यसमा सरकारको ध्यान पुगोस्,' वाग्लेले भने।

शल्यक्रिया गर्नुपर्ने अर्थतन्त्रलाई झारफुकले ठिक पार्न नसकिने उनको भनाइ थियो। अर्थतन्त्रले लय गुमाइरहेका बेला आर्थिक वृद्धि र उन्नतिका कुरा असुहाउँदो रहेको टिप्पणी पनि उनले गरे। 'चालु आर्थिक वर्षका लागि आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखिएकामा अहिले हामी दुई प्रतिशत हाराहारीमा रुमलिनुपरेको छ,' उनले भने, 'लयमा भएको अर्थतन्त्रमा स्थिरताका कुरा गर्न सुहाउँछ। तर संकटमा जाकिएको र भड्कालोमा परेको अर्थतन्त्रका बेला स्थिरता र स्थायित्वको नाराले न्याय गर्दैन।'

नेपालको कर्जा विस्तारमा आर्थिक वृद्धिदरसँग सामञ्जस्यता देखिन नसकेको उनले बताए। त्यस्तै सरकारी आयको तुलनामा खर्च बढ्दै जानु पनि गम्भीर विषय रहेको उहाँले उल्लेख गरे। 'बजेट घाटाको खाडल कसरी हटाउने भन्ने ठूलो चुनौती छ। कर्जा लगानी र आर्थिक वृद्धिदरबीच ठूलो भ्वाङ छ । कर्जा नियमितरुपमा २०/२२ प्रतिशतले वृद्धि भइरहेको छ। तर त्यसले अर्थतन्त्रको वृद्धिदरमा उपेक्षित योगदान दिन सकेको देखिँदैन,' उनले भने।

प्रकाशित मिति: १६:०४ बजे, सोमबार, वैशाख २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्